अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको देशभक्तिपूर्ण गीतको म्युजिक भिडियो “नेपाली- हामी गोर्खाली” गत शनिबार अष्ट्रियाको भियनामा रिलिज गरियो ।
अष्ट्रियावासी नेपालीहरूको एक भेलामा कार्यक्रमका सभापति विकास कार्की, अभिभावक तथा ज्येष्ठ नागरिक हरि राणा र कार्यक्रम संयोजक शेखर लामाको हातबाट एल्बमको आवरणलाई अनावरण गरियो भने राणाले भिडियो क्लिक गरी भिडियो रिलिज गर्नुभयो ।
गीतकार सुभद्रा भण्डारीद्वारा रचित शब्दहरूले पराया मुलुकमा पलपल तड्पिएर जिउनेहरूको कथा- व्यथा अनि आफ्नो मातृभूमिको सम्झनामा तड्पिदै गरेको पीडालाई अभिव्यक्त गरेको छ ।
लामो समयदेखि अष्ट्रियामा रहेर नेपाली गीतसंगीतको यात्रामा अनवरत लागिरहेका गायक तथा संगीतकार शेखर लामा, सुमधुर स्वरकी धनी गायिका सुजाता सेन्चुरी, मनी थेवे र निपोन लामाको स्वर रहेको यस गीतमा शेखर लामा आफैँले संगीत भर्नुभएको छ ।
भिडियोको छायांङ्कन तथा सम्पादन महेन्द्र लिम्बुले गर्नुभएको छ भने एरेन्जर राहुल प्रधानले संगीत संयोजन गर्नुभएको छ । अष्ट्रियाबासी मनी थेवे, विकास कार्की र शेखर लामा, भिडियो निर्देशकमा रहनु भएको छ भने अष्ट्रियाकै चिरपरिचित कलाकारहरू श्वेता वज्राचार्य, जपन राई र भूपेन्द्र गुरूङले कोरियोग्राफी गर्नु भएको छ ।
अष्ट्रियावासी नेपाली समुदायका अभिभावक तथा ज्येष्ठ नागरिक, लेखक तथा आनाका अध्यक्ष हरि राणाले मन्तव्यको क्रममा बधाई दिँदै केही वर्ष पहिला अष्ट्रियामा जन्मिएका बालबालिकाहरूको फोटो तथा नेपालका राजा त्रिभुवनको पालाको पुरानो नेपाली सिक्का लगायतका पुराना चिनोहरू सार्वजनिक गर्नुभएको थियो ।
एनआरएनए अष्ट्रियाका अध्यक्ष तथा उक्त कार्यक्रमका वक्ता भवानी तिवारीले मन्तव्यको क्रममा गीतमा रहेका शब्दहरू सबेको मन मुटुमा बस्न सक्ने मार्मिक खालको रहेको, गायकहरू तथा गायिकाको सुमधुर स्वर तथा संगीत उत्तिकै मिलेको अनि भिडियो छायाङ्कन तथा सम्पादन तथा निर्देशनको कारण भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया दिनुभयो ।
त्यसैगरी अर्का वक्ता नीलम सेन्चुरीले सम्पूर्ण टोलीलाई बधाई दिँदै अष्ट्रियाबासी नेपालीहरूले कहिल्यै नमर्ने एउटा कृति जन्माउन सफल भएको बताउनुभयो ।
[embedyt] https://www.youtube.com/watch?v=ral7LkWh43U[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।