माल्दिभ्समा बसेर कलम चलाइरहेका साहित्यकार जिएस पौडेलको दोस्रो उपन्यास बजारमा आउने भएको छ ।

बुलबुल पब्लिकेसन्सले बजारमा ल्याउन लागेको उनको यो उपन्यासको नाम ‘पहेँलपुर’ रहनेछ ।

‘राजनैतिक आस्था भनेको मानसिक चक्रव्यूह हो, यसमा कुनै युवा पर्यो भने उम्कन गाह्रो हुन्छ भन्ने मेरो ठम्याई छ,’ पौडेलले साहित्यपोस्टसँग भने, ‘यसैलाई मैले उपन्यासको विषय बनाएको छु ।’

पहिलो उपन्यास ‘एक सर्को माया’बाटै पाठकमाझ लोकप्रिय भएका पौडेलको यो उपन्यास पढ्दा पहिलो उपन्यासको सिक्वेल जस्तो लाग्छ । ‘तर यो सिक्वेल होइन, केही पात्र र परिस्थिति मात्र दोहोरिएका हुन् । खासमा यो ‘एक सर्को माया’अघि नै ड्राप्ट भैसकेको थियो,’ पौडेलको भनाइ छ।

पुस्तक तयारी अवस्थामा रहे पनि पाठकको हातमा भने कोरोनाको संकट सकिएपछि मात्र पुग्ने बुलबुल पब्लिकेसन्सले जनाएको छ ।