काठमाडौँ कलिङ्ग लिटरेचर फेस्टिभल (‘केएलएफ नेपाल’)ले आउँदो वर्ष २०८० बाट आख्यान तथा गैरआख्यानका पुस्तकलाई पुरस्कृत गर्ने भएको छ । काठमाडौँ कलिङ्ग लिटरेचर फेस्टिभलले आउँदो वर्ष सेप्टेम्बरमा आयोजन गर्ने साहित्य महोत्सवको यशश्वी पुरस्कार प्रदान गर्ने एक विज्ञप्ति जारी गरी जनाइएको हो ।

कलिङ्ग–काठमाडौं यशस्वी साहित्य सम्मान दुवै देशका दुई लेखकलाई रु. ५० हजार नगद प्रदान गरिनेछ । आख्यान तथा गैरआख्यानका जुनसुकै पुस्तकलाई यो पुरस्कार प्रदान गरिने बताइएको छ । जसमा कथा, कविता, अनुवाद, व्यापार र राजनीतिक मामिलासम्बन्धी पुस्तकहरू, वातावरणीय पुस्तकहरू, जीवनी र आत्मकथा, बाल पुस्तक, खेलकुद, जीवनशैली र उदीयमान प्रवृत्तिका पुस्तकहरू लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने छ ।

यस पुरस्कारले स्थापित तथा नयाँ पुस्ताका लेखकहरूलाई प्रोत्साहन गर्ने पुरस्कार संयोजक तथा काठमाडौं-कलिङ्ग साहित्य महोत्सवकी संयोजक रञ्जना निरौलाले बताउनुभयो ।

सबै विधाका प्रकाशक, लेखकहरूद्वारा पेश गरिएका र मनोनयन गरिएका पुस्तकहरूबाट चयन गरिने र प्रत्येक वर्ष काठमाडौं–कलिङ्ग साहित्य महोत्सवका अवसरमा विजेताहरूलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।

यसका लागि महोत्सवले निर्णायक मण्डलसमेत बनाएको छ ।

“नेपाल यशस्वी बुक अवार्डका निर्णायक सदस्यहरूले वर्षभरि प्रकाशित विभिन्न विधामा उत्कृष्ट पुस्तकहरु चयन गर्नेछन् । पुरस्कारको उद्देश्य राष्ट्रिय र वैश्विक सार्वजनिक क्षेत्रमा लेखनको उत्कृष्टतालाई योगदान पु-याउनु तथा थप विचारशील, चिन्तनशील, अद्वितीय र प्रेरणादायी योगदानहरूलाई प्रोत्साहित गर्नु हो । कलिङ्ग लिटररी फेस्टिभलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिडाले एक विज्ञप्तिमा भने, ‘काठमाडौं–कलिङ्गा साहित्य महोत्सवले बौद्धिक छलफललाई समृद्ध बनाउन लेखक तथा समीक्षकहरूका उत्कृष्ट पुस्तकहरूमा समर्पित सत्रहरू राख्नेछ ।

‘काठमाडौं–कलिङ साहित्य महोत्सवमा साहित्य, संगीत, नृत्य, कविता र अन्य कला विधाहरू प्रदर्शन हुनेछन् । उक्त महोत्सवले साहित्य, संगीत, नृत्य, कला, कविता प्रेमीहरूका लागि जीवनभरको सुखद अनुभूति दिनेछ । यस उत्सवले उदीयमान विश्वव्यापी संस्कृतिको परिप्रेक्ष्यमा नेपाल र भारतबीचको लामो समयदेखिको सम्बन्धलाई मजबुत बनाउनेछ सुमधुर बनाउने छ,’ महोत्सवका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले बताउनुभयो ।

आउँदो वर्ष पनि तीन दिने महोत्सव कार्यक्रम तय गरिएको छ भने सो अवसरमा वार्ता, कार्यशाला, बहस, छलफल लगायतका विविध सत्रहरू आयोजन गरिने भएको छ ।

कलिङ साहित्य महोत्सव भारतको प्रमुख साहित्यिक महोत्सवहरूमध्ये एक हो । यस वर्षदेखि कलिंग साहित्य महोत्सवले ‘काठमाडौंमा–कलिंग साहित्य महोत्सव’ सुरु गरेको हो । यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, नेपाल – कलिंग साहित्य महोत्सवले नेपाल–भारत साहित्यिक सम्बन्धको परिप्रेक्ष्यमा भगवान शिव र बुद्ध तत्वको विश्लेषण गर्नेछ । महोत्सव नेपाल तथा भारतको गौरवशाली साहित्यिक, सांस्कृतिक, कला परम्परामा केन्द्रित रहने गरेको छ । महोत्सवले नेपाली साहित्य, कला, संस्कृतिलाई केन्द्रमा राख्ने गरेको छ ।