विश्व आदर्श कलेज इटहरीमा कात्तिक २५ गतेका दिन अच्छा राई `रसिक´ प्रतिष्ठानको ब्यानरमा सुन्दर लघुकथा सङ्ग्रह ‘बा´ को फोटो’ को विमोचन गरियो ।

लघुकथा विश्लेषकसमेत रहनु भएका वरिष्ठ लघुकथाकार कोइरालाको ‘बा` को फोटो विमोचन कार्यक्रमको अध्यक्षता प्रतिष्ठान अध्यक्ष प्राध्यापक लेखनाथ घिमिरेले गर्नुभएको थियो भने प्रा. डा. टङ्क न्यौपानेले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो ।

झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाइँ बर्बरिक, विशिष्ठ अतिथिद्वय डा. रमेश घिमिरे र इटहरी कला साहित्य उत्थान समूहका अध्यक्ष कृष्णविनोद लम्साल लगायतले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा रचना विश्लेषण वरिष्ठ लघुकथाकार डा. खेमराज खनाल र अग्रज लघुकथाकार सरन राईले गर्नुभयो ।

लघुकथाकारहरू रमेन्द्रमुनि कोइराला, विष्णु भण्डारी आचार्य, अनु विज्ञाति, सीता रेग्मी, रोशन पराजुली, शारदा दहाल भण्डारी, श्रीप्रसाद पोख्रल तथा कृष्ण गौतम समेत उपस्थित भई लघुकथा वाचन तथा विश्लेषण गरिएको उक्त कार्यक्रममा अन्य धेरै लघुकथाहरू वाचन तथा विश्लेषण गरिएको थियो ।

इटहरी, धरान, इनरुवा, बेलवारी, सुन्दर हरैचा, विराटनगर, झोराहाट, धनकुटा, भोजपुर तथा रामधुनी लगायतका स्थानबाट उल्लेख्य सङ्ख्यामा साहित्यानुरागीहरूको उपस्थिति रहेको यस कार्यक्रममा राष्ट्रिय कविता प्रतियाोगिता विजेता कवि टीका आत्रेय, राष्ट्रिय पुरस्कार प्राप्त झोराहाट नाट्य समूह अध्यक्ष बर्बरिक, इटहरी बौद्धिक समाज सदस्य डा. तारा निरौला, डियर कल्याण साहित्य प्रतिष्ठान अध्यक्ष विनोद विवश, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, कवि मुक्ति पोख्रेल, कवि रोहिणी रसिक, कवि सिर्जना नेपाल, प्रदेश लघुकथा पुरस्कार प्राप्त लघुकथाकार विष्णु भण्डारीलगायत विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो ।

कार्यक्रममा विश्लेषक डा. खेमराज खनालले समाजका विविध क्षेत्र समेटिएको ‘बा´को फोटो’ले भाषा, संस्कृति, प्रकृति, वातावरण, शिक्षा, राजनीति, समाज लगायतको यथार्थता केलाउँदै समाज सुधार गरी आदर्श समाजको परिकल्पना गरिएको बताउनुभयो । लघुकथा सङ्ग्रह उम्दा रहेको अर्का वक्ता अग्रज लघुकथाकार सरन राईले बताउनु भयो भने वरिष्ठ लघुकथा विश्लेषक रमेन्द्र कोइरालाले इटहरीमा कविता गोष्ठी, मुक्तक विमोचन तथा गजल महफिलहरू प्रशस्त हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा प्रतिष्ठान उपाध्यक्ष केशव सुनामले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा धन्यवादसँगै समापन धारणा प्राध्यापक लेखनाथ घिमिरेले गर्नुभएको थियो ।