युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाठौंमा आयोजित कार्यक्रममा डा. स्वर्णिम वाग्ले, मोहना अन्सारी, डा. गोविन्द केसी, गगन थापा, मनिष झा, आशुतोष तिवारी, गोविन्द नारायण, थापाकी जीवनसाथी एरिका अधिकारी र आमा शान्ता थापाले संयुक्त रुपमा किताब लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. वाग्लेले उज्वल थापा फरक प्रकृतिको नेता रहेको र उनले देखेको नेपालको सपनाबारे किताबमा सटिक ढंगले विस्तृत रुपमा अभिलेखन भएको बताए । उनले भने, ‘थापाले आफू नेता बन्नेभन्दा पनि नेतृत्व निर्माण गर्नेमा जोड दिए र त्यहीअनुसारको राजनीति पनि सुरु गरे ।’ विद्यालयकालदेखिका साथी उज्वलले देखेको सपना पुस्तकाकार रुपमा आउँदा त्यसमार्फत अबको पुस्तामा विचारको समेत हस्तान्तरण हुने उनको कथन थियो ।

त्यस्तै उज्वल थापाका मित्रसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्ना असफलताबारे गहिरोगरी आत्मसमीक्षा गर्दै अघि बढ्ने उनको शैली मन परेको बताए । उनले हसाउँदै भने, ‘उनले त्यस्ता समीक्षालाई सार्वजनिकसमेत गर्नुपर्छ भनेका छन्, यो पढेपछि मलाई बाख्रापालन उद्यमबारे सार्वजनिक गर्नुपर्छजस्तो लागेको छ ।’ उनले राजनीतिमा नयाँ पुस्तालाई बलियो बनाउन राजनीतिक अभियान थालेको र त्यसको प्रभाव अहिलेको राजनीतिमा पनि परिरहेको बताए । त्यसैले थापाको व्यक्तित्व लोभलाग्दो र अनुकरणीय रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै सत्याग्रही डा. गोविन्द केसीले नेपाली राजनीतिको संस्कार परिवर्तन गर्न थापाले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘उनको काम गर्ने शैली मन हर्ने खालको थियो । त्यसले गर्दा राजनीतिक आन्दोलन सिर्जनात्मक बनाउन उत्प्रेरित गरेको छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीले विभिन्न अभियानमा उज्वल थापासँग सहकार्य गरेको सम्झना गर्दै किताबले उनको विचारलाई कार्यान्वायन गर्न सहज बनाउने विचार व्यक्त गरिन् ।

कार्यक्रममा थापाको व्यक्तित्व र किताबको महत्वमाथि मनिष झा, आशुतोष तिवारी, गोविन्द नारायण र थापाकी जीवनसाथी एरिका अधिकारीले विस्तारमा बोलेका थिए ।

‘आज उज्वलको अर्को सपना साकार भएको छ । यो किताब उज्वलले आफैंले तयार गरेका थिए, प्रस्तुतिकरण र भाषामाथि प्रशस्तै काम गरेका थिए’, उज्वल थापा फाउन्डेसनकी अध्यक्ष तथा थापापत्नी एरिका अधिकारीले भनिन्, ‘किताबले उज्वलको व्यक्तित्वका साथै विचारलाई गहिरोगरी चिन्न मद्दत गर्नेछ ।’

राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गरिएको यात्रा पब्लिसिङ हाउसका अध्यक्ष ऋषिराम अधिकारीले बताए । उनले भने, ‘किताबलाई उनले नै अन्तिम स्वरूप दिएका थिए । तर, सम्पादन जारी रहँदै उनको कोभिड संक्रमण भएर निधन भयो । हामीले सम्पादन प्रक्रिया सकेर किताब प्रकाशन गरेका हौं ।’

नेपालको उज्वल भविष्यप्रति विश्वस्त थापाले विभिन्न आयामबाट आफ्नो आत्मविश्वासमाथि गरेको व्याख्या र विष्लेषण किताबमा पढ्न पाइने अधिकारीले बताए । उनका अनुसार किताबमा नेपाली राजनीति, उद्यम र भविष्यको सपनाबारे सरल भाषामा पढ्न पाइनेछ । किताबमा थापाको विचार र अनुभवका साथै उनकै जीवनकथासमेत समेटिएको छ ।

पुस्तकमा थापाले गरेका स्केचहरूसमेत समेटिएको छ । जसमा नेपाली राजनीति र समाजबारे कलात्मक र व्यंग्यात्मक अभिव्यक्ति रहेको यात्रा पब्लिसिङ हाउसका प्रमुख कार्यकारी अधिकृत सुवास अर्यालले बताए ।

उनका अनुसार किताबमा थापाले आफ्नै जीवनको सफलता र असफलताका कथासमेत रोचक रूपमा प्रस्तुत गरेका छन् । जसमा उनले आफूले गरेका यात्राका कथा र त्यसआधारमा गरिएको नेपाली समाजको विष्लेषणसमेत समेटिएको छ । किताबमा नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशीलताको वर्तमान अवस्था र भविष्यको सम्भावना, नेपाललाई रूपान्तरण गर्नका लागि हरेक नागरिकले सुरू गर्नुपर्ने परिवर्तनको अभियान आदिबारे विभिन्न उपशीर्षकमा व्याख्या गरिएको छ ।

किताबको प्रारम्भिक संस्करण सार्वजनिक भएसँगै संग्रहणीय संस्करण पनि प्रकाशन गरिने पब्लिसिङ्ग हाउसले जनाएका छ । त्यसैगरी पुस्तकको नेपाली संस्करण पनि छिटै प्रकाशन गरिने कार्यक्रममा घोषणा गरिएको थियो । किताबबाट प्राप्त रोयल्टी उज्वल थापा फाउन्डेसनलाई प्रदान गरिने र सामाजिक कार्यमा खर्च गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

५९९ रुपैयाँ मूल्य रहको किताब किताब यात्रा डटकममार्फत नेपाल र विश्वका कुनै पनि स्थानमा किन्न सकिने किताबको वितरण सहयात्री किताब यात्रा प्रा.लि.ले जानकारी दिएको छ ।