धरानको विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३१ औँ राष्ट्रिय कविता महोत्सव २०७९ मा तेह्रथुमकी सीता तुम्खेवा प्रथम हुनु भएको छ ।

तुम्खेवाको ‘रातो रुमाल’ शीर्षक कविता प्रथम भएको हो । तुम्खेवाले २१ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

यस्तै प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमशः मोरङका गगन योगपाङ्देन, काठमाडौँकी राधिका कल्पित र रोल्पाका युग सर्वनामले प्राप्त गर्नु भएको छ ।

उहाँहरूले क्रमशः १८ हजार, १७ हजार र १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।

६७ वटा कविता यस प्रतियोगिताका लागि प्राप्त भएकामा १० कवितालाई अन्तिम प्रतिस्पर्धाका लागि सिफारिस गरिएको थियो ।

अन्तिम सिफारिस हुने कविहरूले धरानको बुद्ध चौकमा रहेको विमल स्मृति पुस्तकालयको सभाहलमा कविता वाचन गर्नु भएको थियो ।

धरानका कवि विमल गुरुङको ५१ औँ जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना भएको थियो।