अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) स्पेनले अक्टोबर ३१ सोमबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनायो । सँगैमा हालै दिवंगत शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी एवम् मानवशास्त्री ओम गुरुङको योगदान स्मरण गर्यो ।

उक्त कार्यक्रममा दीपावलीको शुभकामना आदानप्रदान गर्नुका साथै रचना वाचन पनि गरिएको थियो । उक्त कार्यक्रम अनेसास स्पेनका अध्यक्ष ओमर गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । लोकप्रिय कथावाचक तथा अनुपम स्वरका धनी साइग्रेस पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको उक्त कार्यक्रमलाई दिनेश रेग्मीले सञ्चालन गर्नुभएको थियो ।

प्रमुख अतिथि साइग्रेस पोखरेलले दीप प्रज्ज्वलन् गरी शुरुआत गरिएको उक्त कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा, शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी तथा मानवशास्त्री ओम गुरुङको तस्वीरमा माल्यार्पण गरिएको थियो ।

उक्त कार्यक्रममा संस्कृतिविद् जोशी तथा मानवशास्त्री ओम गुरुङको योगदानलाई स्मरण गर्दै उहाँहरुको दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो । उपस्थित सम्पूर्ण अतिथिलाई अनेसासकी सक्रिय महिला सदस्य निर्मला तिवारीले स्वागत गर्नुभएको थियो भने तमु समाजका अध्यक्ष गौतम गुरुङले मानवशास्त्री डा. ओम गुरुङका बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यस्तैगरी संस्थापक अध्यक्ष शारदा पौडेल “निशा”ले सत्यमोहन जोशीका बारेमा र निर्मला तिवारीले महाकवि देवकोटाका बारेमा प्रकाश पार्नु भएको थियो ।

गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिकराम डुम्रेले अनेसास स्पेनले राम्रो कार्यको शुरुआत गरेको र अझै यस्ता कार्यक्रमहरू गर्दै जावोस् भन्दै शुभकामना दिनुभएको थियो ।

मन्तव्यका क्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष हेमन्त रानाभाटले अनेसास स्पेनको प्रगतिको कामना गर्नुभएको थियो । त्यस्तैगरी अन्तर्राष्ट्रिय कलाकार संघ स्पेनका अध्यक्ष डिक कार्की, जन प्रगतिशीलका अध्यक्ष विशाल ढुंगाना, स्याङ्जा सहयोग समाज स्पेनका अध्यक्ष विमल गुरुङ, कास्की समाजका अध्यक्ष पुष्प केसी र पर्वत समाज स्पेनका सल्लाहकार गंगा भुषालले जोशी तथा मानवशास्त्री डा. गुरुङलाई श्रद्धा सुमन अर्पण गर्दै अनेसास स्पेनको प्रगतिको कामना गर्नुभएको थियो भने आ-आफ्ना रचना वाचन पनि गर्नु भएको थियो ।

एनआरएनए स्पेनकी महिला संयोजक देवी भण्डारीले यस्ता कार्यक्रम बालबालिकालाई बढी प्रभावकारी हुनेहुनाले यस्ता कार्यक्रमहरू गरिरहनुपर्ने कुरामा जोडदिनुभएको थियो भने महाकविका बारेमा कविता वाचन गरेर सुनाउनु भएको थियो । त्यस्तै गरेर क्षेत्री समाजका अध्यक्ष ओम बानियालगायत अन्य अतिथिहरूको पनि बाक्लो उपस्थिति थियो ।

मन्तव्यकै क्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका संयोजक सन्तोष पौडेलले अनेसास स्पेनले गरेको कार्यक्रमको तारिफ गर्दै संस्थाको प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि साइग्रेस पोखरेलले अनेसास स्पेनले अरु नयाँ प्रतिभा जन्माउने आशा गर्दै अब संस्थामा युवाहरूको बाहुल्य हुनुपर्ने कुरामा जोड दिँदै सबैलाई मन्त्रमुग्ध बनाउँदै कविता वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अनेसास केन्द्रबाट चलाइएको बालतारा कार्यक्रमअन्तर्गत पुरस्कृत हुनुभएका बालतारा अदिति रेग्मी एवम् लिदिया भुसालको प्रशंसा तथा प्रमाणपत्र कार्यक्रम संचालक दिनेश रेग्मीले पढेर सुनाउनुभएको थियो । अन्त्यमा अनेसास स्पेनका अध्यक्ष ओमर गुरुङले आफ्ना मन्तव्य राख्दै मर्मस्पर्शी कविता वाचन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रम संचालनको पूर्वतयारी साथै सम्पूर्ण प्राविधिक व्यवस्थापन पर्वत समाजका अध्यक्ष अनन्त लामिछाने र आशबहादुर गुरुङ (बुद्ध)ले गर्नुभएको थियो ।