कवि सिन्धु पौडेलको कविताकृति ‘मृतसागरको उचाइबाट’ र अनेसास अफ्रिका च्याप्टरको साहित्यिक सङ्गालो ‘किलिमन्जारो’को काठमाडौंमा एक समारोहका बिच विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यपोस्ट (इ) दैनिक तथा अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास), अफ्रिका च्याप्टरद्वारा संयुक्त रुपमा आयोजित एक कार्यक्रमका बिच उक्त दुई कृतिको लोकापर्ण गरिएको हो ।

कार्यक्रमको सभापतित्व अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष गणेश खड्काले गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व सदस्य सचिव, कवि तथा गीतकार गणेश रसिकको उपस्थिति रहेको थियो । उक्त समारोहमा अतिथिका रुपमा करिष्ठ कवि श्रवण मुकारुङ, साहित्यकार हिक्मत थापा, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, अनेसासकी उपाध्यक्ष डा. रेणुका सोलुलगायतको उपस्थिति रहेको थियो ।

साहित्यपोस्टले प्रकाशनमा ल्याएको ‘मृतसागरको उचाइबाट’ कवि पौडेलको पहिलो कविताकृति हो । ‘किलिमन्जारो’ अनेसास अफ्रिका च्याप्टरमा सक्रिय साहित्यकारहरुका विभिन्न विधाका साहित्यिक रचनाहरुको सङ्गालो हो भने अनेसास अफ्रिका च्याप्टरले नै प्रकाशनमा ल्याएको हो ।

साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन एलिसा शर्माले गरेकी थिइन् ।