नेपाल प्रज्ञा प्रतिष्ठानमा गत साता चर्चित लेखक खगेन्द्र संग्रौलाको जीवनी विमोचन गरियो ।

सो विमोचनको सबैभन्दा रोचक पक्ष चाहिँ जसका बारेमा जीवनी लेखिएको थियो, संग्रौला स्वयं मञ्चमा हुनुहुन्थिएन । दर्शक दीर्घामा बसेर आफ्नाबारे गरिएका चर्चा उहाँले सुन्नुभयो।

‘एक बागीः खगेन्द्र संग्रौलाको साधना र संङ्घर्ष’ पुस्तकलाई उज्ज्वल प्रसाईंले लेख्नु भएको हो ।

संग्रौलाको जीवन र पुस्तकमाथि नेपाली कांग्रेसका नेता गगन थापा, उषा श्रेष्ठ, डा. महेश मास्के, डा सविन निङ्लेखु र जीवनी लेखक उज्जल प्रसाईले टिप्पणी गर्नु भएको थियो ।

संग्रौला र उहाँका विचारसँग अनेक विमति हुँदाहुँदै पनि संग्रौलाले प्रश्न गर्न सिकाएको भन्दै कांग्रेस नेता थापाले कम्युनिष्ट संग्रौलालाई धन्यवाद दिनुभयो । संग्रौलालाई अध्येता निङ्लेखुले ‘म्याजिकल कम्युनिष्ट’को उपमा दिनुभएको थियो ।

डा. मास्केले संग्रौलाको जीवनीमा उल्लेख भएका विषयलाई समय र सन्दर्भ सहित प्रष्ट्याउनु भएको थियो ।

दर्शकदीर्घाबाट मञ्चमा मन्तव्यका लागि आउनु भएका संग्रौलाले आफ्नो जीवनलाई सानो मान्छेको ठूलो किताबका रुपमा टिप्पणी गर्नुभएको थियो ।

४ सय ७६ पृष्ठको संग्रौलाको जीवनी बेला पब्लिकेशनले प्रकाशित गरेको हो । किताबको मूल्य ९ सय ४५ रुपैयाँ राखिएको छ । पुस्तक बजारमा गइसकेको छ ।