शब्दाङ्कुर साहित्यप्रधान मासिक प्रकाशनको २१ वर्ष पूरा भई २२ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्रतियोगितात्मक कथा प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा प्रथम हुने कथालाई १० हजार रूपैयाँ, द्वितीय र तृतीय हुनेलाई क्रमशः छ हजार र पाँच हजार प्रदान गरिने बताइएको छ ।

कथा नेपाली भाषामा लेखिएको मौलिक हुनुपर्ने, कथा अन्यत्र अप्रकाशित हुनुपर्ने, प्रकाशित कथा भुलवश पुरस्कृत भए प्रतियोगितामा समावेश नगरिने, कथालाई तीन हजार शब्दमा नबढाई लेखिएको हुनुपर्ने बताइएको छ ।

कथा प्रीति वा युनिकोड फन्टमा टाइप गरेर इमेलमार्फत पठाउनुपर्ने बताइएको छ ।

कथाको सिरानमा कथा प्रतियोगिताका लागि भनी लेखिएको हुनुपर्ने, कथाकारको सङ्क्षिप्त परिचय पठाउनुपर्ने, कथाकारको डिजिटल फोटो पनि समावेश गरिनुपर्ने पनि जनाइएको छ ।

उत्कृष्ट कथाहरूलाई शब्दाङ्कुर पत्रिकामा प्रकाशन गरिने छ ।

कथा पठाउनुपर्ने समयसीमा २०७९ पुस मसान्तसम्म रहेको र कथा पठाउने इमेल ठेगाना sabdankur@mail.com रहेको पत्रिकाका प्रधानसम्पादक धीरकुमार श्रेष्ठले जनाउनुभयो ।