उदयपुरमा साहित्यकार पुण्य कार्की र सृजना सरोवरलाई साहित्यिक क्षेत्रमा पु-याएको योगदानलाई कदर गरी एक भव्य समारोहका वीच सम्मान गरिएको छ । छठ पर्वको पावन अवसरमा मिति–२०७९ कार्तिक १३ गते संस्थाका अध्यक्ष चन्दनकुमार साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत र उप–प्रमुख महेश्वरी राईका हातबाट उहाँहरु सम्मानित हुनु भएको थियो ।
आयोजक संस्था त्रियुगा छठ पूजा समितिले हरेक बर्ष साहित्य, संगीत, कला, खेलकूद, पर्यटन, समाज सेवा आदि विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ र यो वर्ष साहित्यिक सर्जकहरुलाई सम्मान गर्ने योजना मुताविक उक्त सम्मान दिइएको हो ।
साहित्यकार पुण्य कार्की विगत तीन दशकदेखि उदयपुरमा बसेर साहित्यका अनेकौँ विधाहरु–कथा,निबन्ध, कविता, जीवनी र समीक्षाको क्षेत्रमा कलम चलाउँदै आएका छन् भने सृजना सरोवर कविता विधामा कलमा चलाउँदै आएकी छिन् । छठ पर्वको पावन अवसरमा त्रियुगा नगरीको पावन तीर्थ क्षेत्र त्रियुगा नदी तटमा हरेक साल हजारौँ मानिसको जमघट हुने गर्छ । यो पर्व हिमाल, पहाड र मधेशलाई एकता र सदभावको सूत्रमा जोड्ने कडीको रुपमा विकसित हुँदैछ ।
कार्यक्रममा सम्मानित स्रष्टा द्वय पुण्य कार्की र सृजना सरोवरले कविता वाचन तथा आभार मन्तव्य दिएका थिए भने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नगर प्रमुख बसन्तकुमार बस्नेत तथा उप प्रमुख महेश्वरी राई लगायत विभिन्न क्षेत्रबाट पाल्नु भएका अतिथिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
स्रष्टा सम्मानको साथै प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमले दर्शक वृत्तलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।