कवि मञ्जुल मितेरीको तेस्रो कविताकृति ‘कामी’ मोरङको उर्लाबारीमा कात्तिक १२ गते विमोचन गरियो ।

नेपाली साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमकी प्रमुख अतिथि कवि कुन्ता शर्मा हुनुहुन्थ्यो ।

कृतिमाथि साहित्यकारहरू डा. भीम खतिवडा, मिश्र वैजयन्ती र रोशन परियारले पुस्तकलाई विविध कोणबाट समालोचनात्मक मन्तव्य राख्नु भएको थियो ।

साहित्यकारहरू भरत गुरागाईंले म एउटा युद्ध लडेर आउँछु कविता वाचन गर्नु भएको थियो भने सुन्दर कुरुपले साकुराके फेदमा उभिएर वाचन गर्नु भएको थियो । त्यस्तै मनोज विश्वकर्माले आऊ, अब हामी सँगै हिँडौँ र गगन योक्पाङ्देनले बेमौसमको कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगा खरेलले पनि सो अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

पूर्वाञ्चलका प्रायशः सबै साहित्यकारहरू, विभिन्न साहित्यिक संस्थाहरू लगायत अन्य क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।

‘कामी’ मुलुकभरका विभिन्न पुस्तक पसलहरूमा उपलब्ध छ ।

जापान तथा भारतमा पनि विमोचनको तयारी भइरहेको कार्यक्रममा जानकारी दिइयो ।

शिखा बुक्सले पुस्तकलाई बजारमा ल्याएको हो ।

नेपाली साहित्य समाज, उर्लाबारीद्वारा आयोजित सो समारोहलाई नेपाली साहित्य समाजका महासचिव अज्ञात दधिले सञ्चालन गर्नु भएको थियो ।