समाजमा ब्याप्त विकृति, विसङ्गतिविरुद्ध सांकेतिक व्यङ्ग्य प्रहार गर्दै हाँस्यव्यङ्ग्यकारको जमघटका बीच आलुपार्टी सम्पन्न भएको छ।

आलुपार्टीका संस्थापक वरिष्ठ हाँस्यब्यङ्गकार रामकुमार पाँडे निवास जावलाखेलमा खोर्सानीको धुप लगाई शंख ध्वनिका साथ जोगीको फेरी लगाउँदै सुरु गरिएको आलु पार्टीमा समसामयिक विषय र वस्तुस्थितिप्रति ब्यङ्ग्य गर्दै भट्याउँदै देउसी-भैलोको शैलीमा “लौ-खा” भन्दै भ्रष्टाचारीको सांकेतिक प्रतीकमा जुत्ताको तलुवाले हिर्काउँदै फरक शैलीबाट कलाकारहरूले तलुवा चटाएका थिए ।

आलुको शांकेतिक प्रतीकलाई सभापति र सभापत्नी बनाएर लाटोकोसेरोको प्रतीकलाई प्रमुख अतिथी मानिएको थियो।

कार्यक्रममा सत्ता र कुर्सीको मोहमा परेका, ७० काटेका बुढा नेताहरूलाई सांकेतिक व्यङ्ग्य गर्दै रामकुमार पाँडेलाई कुर्सीबाट झारी चकटीमा सारेर नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्ने र बुढा पुस्ताले आराम गर्नुपर्ने सन्देश दिइएको थियो।

वि.सं २०३४ सालदेखि निरन्तर फरक शैलीमा काग तिहारका दिन मनाइने आलुपाटी ४५ वर्षदेखि चल्दै आएको छ। विगत केही वर्षदेखि आजकै दिनलाई हाँस्यब्यङ्ग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ। आलु महिमा सुनाउँदै पाँडेले आलुको दाम सँगै बेथितिको चाङ बढेकाले व्यङ्ग्यलाई सुन्ने, बुझ्ने र बुझाउने अभियानको आवश्यकतामाथि जोड दिनुभयो ।

हाँस्यव्यङ्ग्य क्षेत्रका साहित्यकार तथा कलाकारहरू शैलेन्द्र सिंखडा, दीपाश्री निरौला, शिरोमणि दवाडी, डा. बमबहादुर जिताली, विष्णु तिवारी, घनश्याम गौतम, कमल ओली, ऋतु कँडेल, मनोज आचार्य, अजय अधिकारी सुशील तथा कार्टुनिष्टहरू अविन, रविन र अशोकमान लगायतले कविता, मुक्तक, नृत्य, गायन कला तथा कार्टुन चित्र प्रदर्शन गरेका थिए।

कार्यक्रममा व्यङ्ग्य र प्रस्तुतिका आधारमा प्रस्तोताहरूलाई सांकेतिक रुपमा विभिन्न दर्जाका आलु उपाधिले सम्मान गरिएको थियो।

हातको पाखुरा आकारको कलमबाट नाम दर्ता गरेर सुरुवात गरी अन्त्यमा आलु पार्टीको परम्पराअनुसार आलुकै परिकार खाएर कार्यक्रम टुङ्याइएको थियो।