२०७९ साल कात्तिक ५ गते साँझ, प्रकाश पर्व दीपावली तिहारको मंगलमय शुभकामनाका साथ रीडर्स हब् एन क्याफे, काैशलटार, भक्तपुरमा विख्यात गायक एवम् संगीतकार मनमाेहन थपलियाकाे एकल प्रस्तुति: शास्त्रीय सङ्गीत एवम् गजल गायन भव्यताका साथ सम्पन्न भयाे ।

वरिष्ठ संगीतकार दीपक जंगमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त संगीत अनुष्ठानमा थपलियाले प्रारम्भमा राग विहाग, उपरान्त अत्यन्त सुमधुर राग आनन्दी प्रस्तुत गर्नुभएकाे थियाे । त्यसपछि विश्वविख्यात गायक शहन्शाहे गजल मेहदी हसन साहबलाई याद गर्दै थपलियाले दुनियाँ किसीके प्यार में जन्नत से कम नहीँ, तथा मैं नजर से पी रहा हूँ ~ बाेलका गजल प्रस्तुत गर्नुभयो ।

थपलियाले आफ्नै संगीतमा रहेका दुई नेपाली गीत गजलहरु~ तिम्रो साथले जिन्दगीमा नयाँ मोड ल्यायो, एवम् ~ माया गर्छु भन्नेहरु~ बोलका लाकप्रिय रचनाहरूका साथ अन्त्यमा सुमधुर उर्दू गजल ~ हमने काटी है तेरी याद मेँ रातेँ अक्सर~ प्रस्तुत गर्नुभएको थियो ।

थपलियाकाे सुमधुर गायकीमा मशहूर कलाकार अनन्त प्रजापतिले तबलामा एवम् श्रीवत्स खरेलज्यूले तानपूरामा सङ्गत गर्नुभएकाे थियाे । अत्यन्त आनन्दमय वातावरणमा श्रोताहरू शास्त्रीय संगीतका सुरलहरीहरुमा लवलीन बनेका थिए ।

कार्यक्रमकाे अन्त्यमा प्रमुख अतिथि जङ्गमले आजकाे प्रस्तुतिकाे हार्दिक अभिनन्दन गर्दै, आफूले सर्वप्रथम पाकिस्तान जाँदा मेहदी साहबकाे यही मशहूर गीत ~ दुनिया किसीके प्यार मे, नै गाएर ख्याति आर्जन गरेकाे सुमधुर संस्मरण सुनाउँदै याे सिलसिला निरन्तर अगि बढाेस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयाे ।

कार्यक्रममा विख्यात पत्रकार एवम् वरिष्ठ भाषाविद् शरच्चन्द्र वस्ती, गीत संगीतका जीवन्त विश्वकाेषका रूपमा सुपरिचित कवि प्रकाश सायमी, सुविख्यात गीतकार एवम् कवि सुवासचन्द्र ढुंगेल, कवि, उपन्यासकार रमेशानन्द वैद्य, गजलकारहरू डा प्रदीप मैनाली, रमेशरसिक पाैडेल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेकाे थियाे ।

करीब २ घण्टा चलेकाे यस कार्यक्रममा रीडर्स हबका सञ्चालक अनूप आचार्यले आगन्तुकहरुलाई स्वागत तथा प्रा डा सनतकुमार वस्तीले कलाकार परिचय प्रस्तुत गर्नुभएकाे थियाे ।