दार्जिलिङकी लोकप्रिय कवि पवित्रा लामाको उपन्यास ‘महुवा’को लोकार्पण कार्यक्रम दार्जिलिङ सरकारी महाविद्यालयको प्रेक्षागृहमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमका सभापति विन्द्या सुब्बा, मुख्य अतिथि डा राजेन्द्र भण्डारी तथा अन्य अतिथिहरूमा डुपछिरिङ लेप्चा, प्रद्युम्न श्रेष्ठ, नन्द हाँगखिम, नवीन पौडेल, डा गीता छेत्री आदि रहनु भएको थियो ।
कार्यक्रमको कुशल सन्चालन समीर लामाले गर्नु भएको थियो भने प्रा विनेश प्रधानले सभामा स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा गायक कलाकार विनोद स्याङ्देनको असामयिक निधनमा उहाँको आत्मशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरियो।
कार्यक्रममा रन्जना कार्कीको कविता ‘सामाजिक सन्जाल’को अभिनयात्मक प्रस्तुतिले हलभरिका दर्शक भावविह्वल भए। त्यसै गरी सुदर्शन तामाङ, ईशा कामी, महेन्द्र स्याङ्बोका कविता पनि प्रस्तुत गरिए। दार्जीलिङे कान्छाको चियाबारी र वर्तमान समाजलाई लिएर कथिएको गीत बडो रोचक थियो। दार्जीलिङमा विश्वप्रसिद्ध चियाको उत्पादन हुन्छ तर श्रमिकको आर्थिक अवस्था अझैसम्म उन्नति नभएको तथ्यलाई गीतमा प्रस्तुत गरिएको थियो ।
लोकार्पित पुस्तक ‘महुवा’ को निरुपण भने डा. टेकबहादुर छेत्रीले राख्नु भएको थियो । पवित्रा लामाले आफ्नो यस महुवा उपन्यासको सिर्जनाले एउटा गहकिलो स्थान दिलाउने दाबी गर्नुभयो।
उपन्यासको मूल विषयवस्तु विस्थापन (displacement) , स्वेच्छिक विस्थापन र बलात् विस्थापनमध्ये यसमा बलात् विस्थापनलाई लिएर उपन्यास बुनिएको छ । उपन्यासका नयाँ प्रवृत्तिको विकास भएको तर दार्जिलिङले दुवै विस्थापन भोगेको बताउँदै डा. छेत्रीले एउटा राम्रो कवि नै राम्रो आख्यानकार बन्न सक्ने हुनाले कवि पवित्र लामाले परानुभूतिले राम्रो प्रस्तुति दिएको बताउनुभयो । महुवाको कथा दार्जिलिङ पहाडसित मिश्रित रुपमा सजाइएको छ। उपन्यासले एउटा बेग्लै काल्पनिक समूहको उल्लेख गरेको छ। यसमा अभिघात सिद्धान्त (Trauma theory) का आधारमा पनि अध्ययन गर्न सकिने डा. छेत्रीले बताउनुभयो।
कार्यक्रमका मुख्य अतिथि डा. राजेन्द्र भण्डारीले पनि महुवा उपन्यासका केही विशेषता केलाउने क्रममा यसमा प्रयुक्त भाषाका कारणले उपन्यास बेजोड बनेको उल्लेख गर्नुभयो। कविले लेखेको उपन्यास महुवामा कवितात्मक जीवन्त प्रस्तुति बेजोड बनेको, आदिवासी आवाजलाई उपन्यासमा विषयवस्तु बनाउनु पनि समयसापेक्ष बनेको डा. भण्डारीले बताउनुभयो।
बृटिस शासनमा भन्दा अहिले विभिन्न कारणले आदिवासी संकटापन्न रहेको उहाँले बताउनुभयो । हामी पनि आदिवासीझैँ अस्तित्व संकटमा जाँदैछौँ र यो कथा हाम्रो पनि हो। साद्री भाषाको प्रयोगका कारणले उपन्यास विश्वसनीयता पाइन्छ। दुइटा दृष्टिकोण पात्रको प्रयोग पाइन्छ। सीमान्तीकृत समूहकी पात्र महुवा सामाजिक सांस्कृतिक र प्रतिनिधि पात्र हो। महुवाका विभिन्न पक्षबाट अध्ययन गरेर विचार प्रस्तुत गरे। यसमा शिल्प र मुद्दा दुवैको कुशल तालमेल मिलेको डा. भण्डारीको भनाइ थियो ।
पवित्र लामाले आफ्नो संकटको समयमा उपन्यासको तयारी गरेको बताउनुभयो । उहाँले Adhiwasi will not die भन्ने पुस्तकबाट महुवा उपन्यास लेख्ने प्रेरणा पाएको पनि बताउनुभयो । आफू पनि आदिवासी समुदाय बीचमा काम गर्नुपर्दा देखेका वास्तविकता र कल्पनाले उपन्यास बुनेको उहाँको भनाइ थियो।
हाटघर प्रकाशनको तर्फबाट उत्सव सुब्बाले आफ्नो प्रकाशन गृहले आउँदा दिनमा अझ सशक्त कृति बजारमा ल्याउने उद्देश्य राखेको बताउनुभयो ।
कार्यक्रमकी सभानेत्री विन्द्या सुब्बाले पवित्र लामाको उपन्यासले आज राम्रो मूल्यांकन पाएको बताउनुभयो । एक उच्चस्तरीय अधिकारी भएर पवित्रले साहित्य सिर्जनामा एक अब्बल छाप छोड्न सकेकामा उहाँले खुसी पनि व्यक्त गर्नुभयो । यस उपन्यासमार्फत पवित्रले कविभन्दा पनि गद्यकार व्यक्तित्वले जितेको बताउँदै उपन्यासकार लामामा अरुन्धती राय, अनिता देसाई, झुम्पा लाहिडी, गायत्री स्पिभाकझैँ युग र संसार हाँक्ने सामर्थ्य रहेको बताउनुभयो ।
प्रा. कवीर बस्नेतले कार्यक्रमको अन्त्यमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।