दुई दिने कलिङ्ग साहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । असोज २९ र ३० गते हिमालय होटल, ललितपुरमा नेपाल तथा भारतका अनुजदेखि अग्रज पुस्तासम्मको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल र भारतका २०० भन्दा बढी कवि, साहित्यकार, प्रकाशक, पत्रकार तथा कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा विविध विषयमा ३२ बढी सेसनहरु भएका थिए । महोत्सवमा भारतबाट ४० र नेपालबाट करिब २०० सर्जकहरुको उपस्थिति रहेको आयोजकले बताएको छ ।
समापन समारोहमा आगामी २०२३ को सेप्टेम्बर १ देखि ३ सम्म ‘कलिङ्ग साहित्यिक महोत्सव’को दोस्रो संस्करण आयोजना हुने घोषणासमेत गरिएको छ ।

नेपालमा पहिलोपटक भएको कलिंग साहित्य महोत्सवको अनलाइन साहित्यिक पाटनरमा साहित्यपोस्ट (www.sahityapost.com) रहेको थियो ।

एक दशकदेखि भारतमा आयोजना हुँदै आएको ‘कलिङ्ग साहित्य महोत्सव’को ११ औं संस्करण अन्तर्राष्ट्रिय महोत्सवको रुपमा यसपटक नेपालमा भएको हो । महोत्सव निकै राम्रो र स्तरीय भएको वक्ताहरुले कार्यक्रममा बताउनुभएको छ । दर्शकका रुपमा सहभागीहरुले भने कार्यक्रम भव्य हुँदाहुँदै पनि व्यवस्थापन प्रभावकारी नभएको बताएका छन् ।

महोत्सवमा भारतबाट ६० बढी साहित्यकारका साथै नेपालका समेत गरेर ३०० भन्दा बढी साहित्यकार सहभागिता रहेको थियो । अर्को वर्ष पनि महोत्सवलाई काठमाडौंमै गर्न सक्ने महोत्सवका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले बताउनुभएको छ ।

शनिबार बिहान महोत्सव उद्घाटन समारोहमा कलिङ्ग साहित्य महोत्सव काठमाडौँका निर्देशक रञ्जना निरौला, प्रमुख अतिथिका रुपमा डा. जगमान गुरुङ तथा अतिथिहरुमा अशोक बाजपेयी, कनकमनि दीक्षित, तुलसी दिवस, माया ठकुरी, वसन्त चौधरी, एल.पी. दासलगायतको उपस्थिति रहेको थियो । साथै, कार्यक्रमको उद्घाटन समारोहमा उदय अधिकारी कृति महेश पौड्यालसँग संवाद सङ्ग्रह ‘फेसिङ अ लिटल भोल्कयानो’को विमोचन गरिएको थियो ।

त्यस्तै, उद्घाटन समारोहमै काठमाडौं यशस्वी साहित्य सम्मानकाट संस्कृतिविद् सत्यमोहन जोशी र प्रसिद्ध भारतीय लेखक अशोक बाजपेयीलाई सम्मान समेत गरिएको थियो ।

शनिबार बिहान १० बजेबाट हिमालय होटलका दुई फरक हलमा एकैपटक दुई सेसन गर्दै महोत्सव अघि बढेको थियो । दोस्रो सेसन ‘सेन्ट्रल थेम: इण्डिया एण्ड नेपाल: जर्नी अफ सिभिलाइजेसन एण्ड सर्च फर द सोल’का वक्ताहरुमा तुलसी दिवस, अशोक बाजयेपी र कनकमनि दीक्षित रहनुभएको थियो भने त्यसै समयमा दोस्रो हलमा स्नेह सायमीको सहजीकरणमा सञ्चालित तेस्रो सेसन ‘नेपाल भाषामा कविता: समय अनुभूति’मा डा. पुष्पराज राजकर्णिकार, नारद बज्राचार्य र प्रतिसरा सयमीले नेपाल भाषाका रचना सुनाउनुका साथै महत्त्वपूर्ण विचारहरु राख्नुभएको थियो ।

महोत्सवको चौथो सेसन ‘इण्डिया–नेपाल सिभिलाइजेसन रिलेसनसीप: द वे फरवाड’ रहेको थियो । विनित कुमारले सहजीकरण गरेको चौथो सेसनमा रन्जित राय र युवराज घिमिरेले बहस गर्नुभएको थियो । त्यस्तै, गोविन्द गिरी प्रेरणाले सहजीकरण गरेको पाँचौँ सेसन ‘कविता: इतिहास र गौरव’मा तुलसी दिवस, दुर्गालाल श्रेष्ठ, गोपाल पराजुली, दिनेश अधिकारी, विप्लव प्रतीक, विश्वमोहन श्रेष्ठ, विष्णुविभू घिमिरे, तीर्थ श्रेष्ठ, स्नेह सायमी, पवन आलोक, अशेष मल्ललगायत अग्रज साहित्यकारहरुले कविता वाचन गर्नुभएको थियो ।

महोत्सवको पहिलो दिनको छैटौँ सेसनका रुपमा ‘हिजोको कथा, आजको कथा’ रहेको थियो । उमा सुवेदीले सहजीकरण गरेको पाँचौँ सेसनमा गनेश पौडेल, भागिरथी श्रेष्ठ र महेशविक्रम शाहले बहस गर्नुभएको थियो । त्यसै, दोस्रो हलमा भएको सातौँ सेसनमा सुधा गोपालकृष्ण र डा. शंकर थापाको लेक्चर रहेको थियो ।

महोत्सवमा लघुकथा वाचन कार्यक्रम रहेको थियो । श्रीओम श्रेष्ठ रोदनले सहजीकरण गरेको कार्यक्रममा मन्दिरा मधुश्री, ध्रुव मधुकर्मी, सुमन सौरभ, दिव्य गिरी, तुलसीहरि कोइराला, दिपक लोहनी, रवीन्द्र समीर, ममता मृदुल, निशा केसी, पवित्रा अधिकारी, विनोद नेपाल र लीलाराज दाहालले आफ्ना लघुकथा वाचन गर्नुभएको थियो ।

महोत्सवको आठौँ सेसनका रुपमा ‘आख्यानको अनुहार’ रहेको थियो । पत्रकार विमल आचार्यले सहजीकरण गरेका आठौँ सेसनमा अमर न्यौपाने, नारायण ढकाल र गणेश श्रेष्ठले संवाद गर्नुभएको थियो । त्यस्तै, दोस्रो हलमा प्रतीक ढकालको सहजीकरणमा सञ्चालित नवौँ सेसन ‘नियात्रा साहित्य उद्भव र विस्तार’मा भीष्म उप्रेती, युवराज नयाँघरे, जय छाङ्छा र प्रभा बरालले बहस गर्नुभएको थियो ।

महोत्सवको दसौँ सेसनमा हिन्दी गीतकार राजशेखरसँग सम्पदा मल्लले संवाद गर्नुभएको थियो भने एघारौँ सेसनमा पुस्तक ‘अनुभूतिको अवतरण’माथि रञ्जना निरौला, मोमिला जोशी, युवराज नयाँघरे र सुमन वर्षाले संवाद गर्नुभएको थियो । त्यस्तै, राज शाहको सहजीकरण सञ्चालन भएको बाह्रौँ सेसन ‘रङ्गमञ्चभित्र, रङ्गमञ्चबाहिर’मा अनुप बराल, लक्ष्मी बर्देवा र शिशिर उप्रेतीले संवाद गर्नु भएको थियो ।

महोत्सवको तेह्रौँ सेसनका रुपमा ‘मैथिली संस्कृतिका सिर्जनात्मक आयामहरु’ रहेको थियो । धीरेन्द्र प्रेमषीले सहजीकरण गरेको तेह्रौँ सेसनमा सत्यनारण शाह, एस.सी. सुमन, गुरुदेव कामत र विभा झा वक्ताका रुपमा हुनुहुन्थ्यो । त्यस्तै, भ्योमेस सुक्लाले सहजीकरण गरेको चौधौ सेसन ‘जर्नी आफ सिभिलाइजेसन: फम कान्तिपुर टु काशी टु कलिङ्ग एण्ड कर्नाटका’मा अशोक विजपेयी, कनकमनि दीक्षित र नविता श्रीकान्तले बहस गर्नुभएको थियो ।

महोत्सवको पन्ध्रौँ सेसन कविता वाचन ‘कविता: भावनाको रङ’ रहेको थियो । सुमन वर्षाले सहजीकरण गरेको उक्त सेसनमा शान्ति प्रियावन्दना, अनिता न्यौपाने, रावत, शकुन्तला जोशी, असीम सागर, विश्व सिग्देल, रुपेश श्रेष्ठ, रामगोपाल आशुतोष, डा. निरज भट्टराई, प्रज्ज्वल अधिकारी नवीन अभिलाषीलगायतले कविता वाचन गरेर महफिल जमाउनुभएको थियो । त्यस्तै, महोत्सवको सोह्रौँ सेसनमा पियुष मिश्रासँग ‘हमलेट कभि बम्बे नहिं गया’अन्तर्गत सत्यानन्द निरुपमले संवाद गर्नुभएको थियो ।

महोत्सवको पहिलो दिनको अन्तिम अर्थात सत्रौँ सेसनमा भ्योमेश सुक्लासँग मालिनी अवस्थीले संवाद गर्नुभएको थियो, र उक्त सेसनसँगै महोत्सवको पहिलो दिनको समापन भएको थियो ।

महोत्सवको दोस्रो दिन, आइतबार विभिन्न सेसनमा विभिन्न विषयमा बहस गर्दै महोत्सव सम्पन्न भएको थियो । विषयत: आइतबार महोत्सव काव्यमय भयो । २० मध्य आधा दर्जन सेसनमा विभिन्न श्रष्टाहरुले आफ्ना कविता, गजल प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुल्याउनुभएको थियो ।
आइतबार बिहानको दुबै सेसन कवितामय भएका थियो भने साँझका दुई सेसनले महोत्सवमा महफिल जमाएको थियो । एक सेसनमा विभिन्न गजलकारहरुले महफिल जमाएका थिए । बिहानीपखको सेसन पनि कवितामा केन्द्रित थियो । त्यस्तै, दिउँसोको एक सेसनमा अङ्ग्रेजी कवितासमेत वाचन भएका थिए ।

आइतबार बिहानको सेसनमा भारतका अग्रज अशोक बाजपेयीसहित भारतीय कवि अरुण कमल, गगन गिल, भ्योमेश शुक्ला, नेपाली कविहरु दिनेश अधिकारी, अशेष मल्ललगायतले आफ्नो चर्चित कविता सुनाउनुभयो । बिनित कुमार यो सेसनका सुत्रधार हुनुहुन्थ्यो । त्यस्तै, अर्को हलमा सोही समय अर्को काव्य कार्यक्रम भएको थियो । जसमा श्रवण मुकारुङ, सिमा आभास, सन्ध्या पहाडी, गीता कार्की, मोमिला बस्नेत, टंक उप्रेती, प्रोलास सिन्धुलिया, मधु पाठक, प्रथा, फूलमान बल, मुनराज शेर्मा, बाबा बस्नेत, भोजराज नेउपाने, चन्द्र वाग्ले, ठाकुर बेलबासे, रेणुका सोलु, छविरमण सिलवाल, सविता गौतम, ज्योति जङ्गललगायतले कविता सुनाउनुभएको थियो ।

‘लेखनमा महिलाहरुको चुनौती र भविष्य’बारे बहसमा महोत्सवमा निबन्धकार कुमारी लामाले ‘चुनौती धेरै भए पनि लेख्न नछाड्न’ महिला लेखकहरुलाई अनुरोध गर्नुभएको थियो । सगुन शाहले सञ्चालन गरेको यो सेसनमा सवित्री कक्षपतिले विगतमा भन्दा अहिले महिलाहरुलाई लेखनमा लाग्न निकै सहज भएको बताउनुभएको थियो ।

महोत्सवमा नेपालका लागि भारतका पूर्वराजदुत रन्जित रेले नेपाल भारतको सम्बन्ध र संस्कृतिबारे प्रकाश पार्नुभएको थियो । ‘नेपाल–भारतको कुटनीतिक तथा अन्य सम्बन्ध’ सेसनमा उहाँले नेपालले भारत र बङ्गलादेशमा उर्जा निर्यात गरेर ठुलो आम्दानी गर्न सक्ने बताउनुभयो ।
भारत–नेपाल कलासम्बन्धी बहसमा पूर्वकुलपति रागिनी उपाध्याय र भारतीय चित्रकार मनिष पूस्कलेले नेपाल–भारतको कला–सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो । यस्तै, ‘पब्लिकेसनको डिजिटल इरा’ सेसनमा डिजिटलले पब्लिकेसनमा ल्याएको क्रान्ति र यसको सहजताबारे चर्चा गरिएको । अशोक महेश्वरी, सत्यानन्द निरुपम, सृजन मास्केलगायतले यो सेसनमा डिजिटलले पब्लिकेसनमा ल्याएको परिवर्तन र फाइदासँगै यसका असरबारे चर्चा गर्नुभएको थियो ।

महोत्सवको दोस्रो दिनमा सञ्चारकर्मी युवराज घिमिरेले भारत नेपालको सम्बन्धमा मिडियाको भूमिकाबारे बहस गर्नुभएको थियो । मिडियामा रहेर दुई देशको सम्बन्धको बारे आफूहरुले गरेका कामको अनुभव सुनाउँदै दुई देशको सम्बन्धलाई सुमधुर बनाउन मिडियाको पनि ठुलो हात हुने उहाँहरुको जिकिर रह्यो ।

चलचित्र निर्देशक दीपेन्द्र के खनाल, सुजित बिडारी, सुवर्ण थापा, सम्पदा मल्ललगायतले समाज, साहित्य र सिनेमा शिर्षकको बहस सेसनमा सिनेमा र समाजको सम्बन्धबारे चर्चा गरे । त्यस्तै, राजकुमार बानियाँले सहजीकरण गरेको ‘नेपाली समालोचनाको वर्तमान अवस्था’ सेसनमा डा. रजनी ढकाल, ज्ञानु अधिकारी, अभय श्रेष्ठ र डा. गीता त्रिपाटी वक्ताका रुपमा रहनुभएको थियो ।

गँगन गिल, प्रा.डा. वीना पौडेल, आनन्द निलकण्ठ, कविता सिंहले महिला शसक्तीकरण सम्बन्धी सेसनमा नेपाल र भारतका महिलाहरुको अवस्थाबारे चर्चा गर्नुभएको थियो । विभिन्न कारणले दुई देशका महिलाहरुको अवस्था मिल्ने उहाँहरुको मत एक थियो । महोत्सवकी निर्देशक रञ्जना निरौलाले उक्त सेसनलाई सहजीकरण गर्नुभएको थियो । त्यस्तै, नविता श्रीकान्त, तुलसी दिवस, प्रेम प्रधानलगायतले भारत र नेपालको अध्यात्म, संस्कृति र साहित्य सम्बन्धी सेसनमा दुई देशको संस्कृतिक सम्बन्धले साहित्यर्सिजनामा पुर्‍याएको योगदानको बहस गर्नुभएको थियो ।

महोत्सवमा आइतबार साँझ साँझको कलिङ काठमाडौं महफिल सेसनले महोसललाई काव्यिक बनाएको थियो । यस सेसनमा विभिन्न गजलमाथि बहससँग गजलहरु वाचन गरिएका थिए । गजलकार बाबु त्रिपाटीले सञ्चालन गरेको कार्यक्रममा धीरेन अनुपम, महेन्द्र चन्द, कृष्ण विरही, आशा बलायर, गीता स्मृति कठायत, सङ्गीता थापा, मुना बोहरा, ईश्वरा दाहाल, खगेन्द्र अटल, रहस्यविक्रम चिमरिया, विद्यानिर्दोष पहाडी, लक्ष्मण सङ्गम र उमेश विद्रोहील गजल वाचन गर्नुभएको थियो ।