असोज २९ गते केवरत भाषाको वर्ण पहिचान गर्ने कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रमको आयोजना केवरत काठमाडौँ समन्वय समितिले गरेको हो ।

केवरत भाषाका वर्ण पहिचान चर्चित भाषाविद् एवम् भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङले गर्नु भएको हो ।

तामाङले केवरत भाषा भारोपेली परिवारको रहेको बताउनु भएको छ । उहाँले यो भाषा बङ्गाली समूहमा पर्नसक्ने बताउनु भएको छ । तामाङले लघुत्तम युग्मका आधारमा भाषा वैज्ञानिक कोणबाट केवरत भाषाका वर्णहरूको पहिचान गर्नुभएको हो ।

उहाँले केवरत भाषामा अ, आ, इ, उ, ए, ओ स्वर वर्णहरू तथा क, ख, ग, घ,ङ,च,छ, ज, झ, ट,ठ,ड,ढ, त,थ,द,ध,न, र, ल, व,स,ह व्यञ्जन वर्णहरू रहेको बताउनु भएको हो । यस भाषामा दीर्घता नरहेको निष्कर्ष पनि निकालिएको छ।

उक्त कार्यक्रममा उपप्रा.चतुर्भुज केवरत, केवरत भाषाका अभियन्ता रमेश केवरत, कम्प्युटर इञ्जिनियर अमनकुमार दास केवरत, श्रीमती विद्यादेवी केवरत, अजयकुमार दास केवरत, रुमन्थकुमार दास केवरत र सावन्तकुमार दास केवरतलगायतका केवरतभाषीहरूको सहभागिता रहेको थियो ।

सो कार्यक्रम तामाङ राष्ट्रिय पुस्तकालय, तामाङ भवन, बौद्धमा सम्पन्न भएको केवरत अधिकारकर्मी अजयकुमार दास केवरतले बताउनुभयो ।