Chovar Blues Mobile Size


पोखरा, असोज २९ / कवि एवम् नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले लक्ष्मी प्राप्त गर्नका लागि पनि सरस्वतीको आराधना आवश्यक रहेको बताएका छन् ।

सरस्वतीको आराधना भनेको ज्ञान आर्जन हो, लक्ष्मीलाई खुसी पार्ने स्तूति जान्न पनि सरस्वतीको आराधना गर्नुपर्ने उनले बताए । तर सत्ता र शासकले यस कुरालाइृ कहिल्यै गम्भीरतापूर्वक नलिएकोमा दुःख प्रकट गरे ।

महानन्द ढकालको नयाँ उपन्यास ‘बुह्रान’ माथिको विमर्श कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । राज्यले कवि लेखकहरूलाई जुन रूपमा लगानी गरेर ज्ञानको मार्ग खोल्न प्रेरित गर्नुपर्ने थियो, त्यसप्रति पूर्णतः बेवास्ता गरेको आरोप पनि लगाए । यद्यपि लेखकहरूले सत्तालाई देशभित्रको देश चिनाउने काम कवि लेखकहरूको भएकाले आफ्नो कर्तव्य पूरा गर्न निरन्तर लाग्नुपर्ने बताए ।

“महानन्द ढकालले जसरी पहाड र मधेसको सम्बन्ध, बसाइँसराइ, थारू समुदायको संस्कृति, सङ्घर्ष र जीवनलाई समेटेर सुन्दर कृति रचना गरी त्यहाँको यथार्थ पस्केर पश्चिम तराईको नेपाललाई आख्यानमार्फत् प्रस्तुत गरेका छन्, यस्ता थुप्रै देशभित्रका देशलाई बाहिर ल्याउन जरुरी छ,” उनले भने ।

‘बुह्रान’माथि समीक्षा प्रस्तुत गर्दै समीक्षक सञ्जीव पौडेलले कृतिले मुख्यतः थारू जनजीवन, संस्कृति र कमैया मुक्तिको सन्दर्भलाई केन्द्रीय कथ्य बनाएर उपन्यास तयार पारिएको बताए । पहाडी जीवनको संस्कृति मध्यनेपाल र यस वरपरका पहाडी बस्तीबाट पश्चिम तराईमा बसाइँ जानुपर्ने बाध्यतालाई पनि उपन्यासले प्रमुखताका साथ उठाएको छ । साथै कमैया आन्दोलन, थरूहट आन्दोलनले थोरै अगुवालाई अलिअलि फाइदा भए पनि सिङ्गो थारू समुदायको जीवनमा कुनै परिवर्तन नआएको कुरालाई वैचारिक निष्कर्षका रूपमा लेखकले प्रस्तुत गरेको उनले बताए ।

थारू संस्कृति र उनीहरूको मुक्तिका आन्दोलनको सेरोफेरो बुझ्न चाहनेहरूका लागि यो उपन्यास स्रोत पुस्तकै बन्ने उनले दाबी गरे । यसमा प्रस्तुत भएको भाषिका र आञ्चलिकताले भाषिक सौन्दर्य थपेको र उपन्यासलाई आकर्षक बनाएको बताए । उपन्यास विवरणमुखी हुँदाहुँदै पनि जीवनका अन्तरकुन्तरलाई समेट्न सक्षम भएको उनले बताए । साथै उनले उपन्यासमा पात्रविधान, वर्णविन्यास र प्रस्तुति शैलीमा नवीनता पस्कन सकिने प्रशस्त अवसर हुँदाहुँदै पनि लेखकले त्यसलाई महत्त्व दिन नसकेको भन्दै आलोचना गरे । अलि बढी सम्पादनसहित निकालिएको भए उपन्यास थप सशक्त हुने विचार उनले राखे ।

लेखक महानन्द सापकोटाले आफूले निकै अगाडिदेखि थारू समुदायमा रहेका विविध सन्दर्भलाई नजिकबाट केलाएको र त्यसलाई उपन्यासको रूपमा ढाल्न कोभिड–१९ पछिको बन्दाबन्दीले अवसर दिएको सुनाए ।

लेखक हसिना बस्नेतसँगको संवार्ताका क्रममा ढकालले आफूले उपन्यास छापिसकेपछि विभिन्न दृष्टिकोणबाट सुझाव र सल्लाहहरू आएको र यसले आफूलाई जिम्मेवार बनेर लेख्न थप ऊर्जा प्रदान गरेको बताए । महिलालाई कमजोर पात्रका रूपमा उभ्याइएको, प्रेमको सन्दर्भलाई कम महत्त्व दिइएको, अनुसन्धानमूलक विषयलाई औपन्यासिकता दिन केही मात्रामा चुकेको आदि सन्दर्भमा हसिना बस्नेतले राखेका जिज्ञासामाथि ढकालले आफ्ना धारणा प्रस्तुत गरेका थिए । सो क्रममा नेपालप्रकाश अधिकारी लगायतले पाठकका रूपमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सभापतिका रूपमा लक्ष्मण थापाले अभियानले यस प्रकारका नवीन नवीन कार्यक्रमहरू गर्दै गएको र पोखरेली लेखक–साहित्यकारहरूको निरन्तर साथ र सहयोग रहेकामा धन्यवाद ज्ञापन गरे । पुछारसिटे अभियानका सल्लाहकार लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अभियानका अभियन्ता मोहन भण्डारीले गरेका थिए ।