वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरियो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गत भदौ २८ मा सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा लेखक बुद्धिसागरले नयाँ कलेवरसहित आएको आफ्नो कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’बाट केही कविता वाचन पनि गरे । साथै उनको नयाँ कलेवरसहितको कवितासङ्ग्रह पनि बजारमा गएको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा सङ्गीतकर्मी अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति पनि रहेको थियो । यो विशेष कार्यक्रम नेपाल लिटरेचर फेस्टिभलको ‘बुक अड्डा’ शीर्षकअन्तर्गत आयोजना गरिएको हो ।
कार्यक्रममा डा. कोइरालाको पुस्तक ‘हृदय’बारे विद्वान् राम लोहनीले समीक्षात्मक टिप्पणी गरेका थिए । डा. कोइरालाको पुस्तक ‘हृृदय’ले नेपालको स्वास्थ्य क्षेत्रका समस्या, समाधान एवम् यससम्बद्ध विषयलाई मात्र होइन, कोइरालाले आफ्नो जीवनमा सामना गर्नुपरेका सङ्घर्षहरूलाई विशेष रुपमा प्रस्तुत गरेको लोहनीले बताए । साथै यसले हामी सबैलाई आफ्नो काममा प्रतिबद्ध भएर लागिपर्न सके सफलता टाढा छैन भन्ने किसिमको विशेष प्रेरणा प्रदान गर्ने उनको भनाइ छ ।
‘हृदय’को नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ रुपैयाँ मूल्यमा उपलब्ध रहेको प्रकाशक फाइनप्रिन्टले बताएको छ ।
हालसम्म ‘हृदय’को सीमित विशेष संस्करण झन्डै ६ सय प्रति पुस्तक बिक्री भइसकेको पनि फाइनप्रिन्टले जनाएको छ । पुस्तक बिक्री हुने क्रम जारी छ । २५ सय प्रति मात्र मुद्रण भएको ‘हृदय’ को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ । यस्तै विशेष संस्करण खरिद गरी सहयोग पु-याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ । नियमित संस्करणको ५० प्रतिशत लेखकस्व पनि डा. कोइरालाले सोही बाल अस्पताल निर्माणलाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताएका छन् । काठमाडौँको बाँसबारीमा निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी रहनेछ ।
डा. कोइराला र बालस्वास्थ्यमा समर्पित समूहले काठमाडौँसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ । यो बृहत् परियोजनालाई सफल पार्न आफूहरूले सानो पहल मात्र गरेको फाइनप्रिन्टले जनाएको छ ।
विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गरिरहेका छन् । ‘हृदय’को विशेष सीमित संस्करण fineprint.com.np मा गई अनलाइन अर्डर गर्न तथा फाइनप्रिन्टको ९८४३५७९०३१ मा सम्पर्क गरेर किन्न सकिने फाइनप्रिन्टले बताएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।