डि जि शर्मा
युएई / झापाको दमकमा रहेको कदम थ्रिएटरको आयोजनामा सञ्चालन हुँदैआएको गजल वाचन कार्यक्रम “शेर-अन्दाज” को तेस्रो शृङ्खलामा तीन स्रष्टा रहनु हुने भएको छ ।
कार्यक्रममा पोखरा निवासी गजलकार आवाज शर्मा र काठमाडौँ निवासी गजलकार नारायण प्रसाद घिमिरे (अहम् स्रष्टा) को विशेष गजल वाचन रहनेछ ।
आगामी कार्तिक ५ गते शनिबार हुने तेस्रो शृङ्खलामा सङ्गीतकार सन्तोष श्रेष्ठको विशेष गजल गायन प्रस्तुति रहने जनाइएको छ । कार्यक्रम कदम थ्रिएटरको हलमा दिउँसो २:३० बजेबाट सुरु हुनेछ ।
साथै यस पटकको कार्यक्रममा शास्त्रीय बहरबद्द गजल एल्बम “शुभेच्छा” माथि पनि विमर्श गरिने कार्यक्रम रहेको कार्यक्रम संयोजक तथा गजलकार लोकेन्द्र बञ्जाराले जानकारी गराउनु भयो ।
शेर अन्दाजको यसअघि पहिलो शृङ्खलामा गजलकार तथा कवि सुन्दर कुरुप र गजलकार लोकेन्द्र बञ्जारा तथा दोस्रो शृङ्खलामा गजलकारद्वय सङ्गीता थापा र कृष्ण काश्यप रहनु भएको थियो ।
गजल लेखनमा प्रोत्साहन र गजलको विकासमा टेवा पुर्याउने उदेश्यका साथ कदम थिएटर, दमकले पारिश्रमिकसहित गजलकारहरुको विशेष गजल वाचनको शृङ्खला गत असार ३ गते शुक्रबारबाट सुरु गरेको थियो ।
कार्यक्रम हरेक दुई महिनाको अन्तरमा हुँदै आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।