‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता छ पुस्तक । पाँचपटकका प्रधानमन्त्रीको ‘आत्मकथा’देखि ‘माधवी ओ माधवी’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
====
१. युगारम्भ – विजय खरेल
विजय खरेलकृत उपन्यास हो, ‘युगारम्भ’ । खेल काव्य, आख्यान र गैआख्यान तीनै विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् । उनको लेखनी समाजका विकृति, बेथिति र असहज अवस्थाप्रति केन्द्रित रहँदै सुधारतर्फ उन्मुख भएका हुन्छन् । यसकै उदारहणका रुपमा दुई भिन्न–भिन्न संस्कृतिको मिलनको कथानकमा प्रस्तुत छ उपन्यास ‘युगारम्भ’ ।
‘… दाम्पत्य सूत्रमा आबद्ध चेलीले दाइजो अपुग भएको निहुँमा सुरुकै दिनदेखि मानसिक, शारीरिक पीडा खप्नुपर्ने र मृत्युवरण गर्नसमेत बाध्य तुल्याइँदा पनि कानुनी उपचारमा जान नसक्ने अवस्थाले विकराल स्वरुप धारण गरेको छ ।’, उपन्यासको भूमिकामा डा. ठाकुरप्रसाद पोखरेल लेख्छन्, ‘विज्ञान र प्रविधिको विकासबाट धरतीमा छोरीको आगमन हुन लागेको जानकारी दिने यन्त्र निर्माण हुनाले भ्रुणावस्थामै समाप्त गर्ने प्रवृत्तिको जरा फैलँदै गएको हुँदा व्यक्तिमा दानवीय स्वभाव विकसित भइरहेको छ । उपन्यासले समाजमा रहेका मानवताहीन विकृत खालका कुसंस्कारको अन्त्य गर्न खोजेको छ । त्यसैले पहाडी र मधेशी मूलका युवायुवतीबीच वैवाहिक सम्बन्ध गाँसिएको प्रसङ्ग मुख्य रुपमा रहेको छ ।’
पुस्ताकलाई वी–रिडले प्रकाशनमा ल्याएको हो । २ सय १६ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ४ सय ७५ रुपियाँ रहेको छ ।
२. आम्दानीको ठाउँ – अलेक्सान्द्र ओस्त्रोब्स्की
उन्नाइसौं शब्तादीका चर्चित रुसी नाटककार अलेक्सान्द्र ओस्त्राब्स्कीको नाटकको नेपाली अनुवाद हो, ‘आम्दानीको ठाउँ’ । यस नाटकमा नोकरशाहीतन्त्रमा घुसखोर कर्मचारीहरुको वास्तविक अवस्थाको सजीव चित्रण गरिएको छ । नाटकलाई गोपीरमण उपाध्यायले नेपालीमा अनुवाद गरेका हुन् ।
‘… नाटकको अन्त पनि रोमाञ्चक भएको छ ।’, पुस्तकको भूमिकामा प्रदीप नेपाल लेख्छन्, ‘विस्नेब्स्की भ्रष्टाचार यात्रामा बरोबरको सहभागी भएर जादोवलाई गाली गर्ने युसोव विस्नेब्स्कीले भ्रष्टाचारको मुद्दा खेप्नु परेको अवस्थामा आफूलाई यसरी अलग्याउँछ – धनसम्पत्ति र नाम कमाउने लालसामा मानिस एकप्रकारको अन्धो हुन्छ । त्यतिबेला त्यसका सम्पूर्ण मानवीय भावनाहरुको मृत्यु भइसकेको हुन्छ । हामीले त्यस आम मानिसहरुलाई बिर्सिसकेका हुन्छौं ।’
वि.स. २०७५ सालमै पहिलो संस्करण प्रकाशनमा आएको यो नाटकको दोस्रो संस्करण पुन: भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ६२ पृष्ठमा फैलिएको नाटकको मूल्य २ सय ७० रुपियाँ रहेको छ ।
३. तनुजा – डा. जानुका पौडेल नेपाल
नील बाराही माध्यमिक विद्यालय, काठमाडौंकी प्रभानाध्यकपक डा. जानुका पौडेल नेपालकृति एक्काइसौं शताब्दीका किशोरमैत्री कथासङ्ग्रह हो, ‘तनुजा’ । नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली भाषामा विद्यावारिधि गरेकी जानुकाको यो पहिलो कथा कृति हो ।
‘अधिकांश कथाका किशोर–किशोरी पात्र अत्यन्त सुशील, सभ्य र परिश्रमी देखिन्छन् । उनीहरु खासै समस्याग्रस्त किशोर–किशोरी होइनन् ।’, पुस्तकको भूमिकामा विजय चालिसे लेख्छन्, ‘यथार्थमा सधैं यस्तै हुँदैन । सबै किशोर–किशोरी कथाका पात्रजस्ता मात्र सरल मनोविज्ञान र सकारात्मक चरित्रका मात्र पनि हुँदैनन् । त्यसैले लामै समय किशोर–किशोरीहरुसँग बिताउने समर्पित शिक्षक जानुका नेपालजस्ता साहित्यकारहरुबाट थप अपेक्षा गरिनु स्वभाविक हो । भविष्यमा कथाकारबाट समस्याग्रस्त किशोर–किशोरीहरुको सकारात्मक–नकारात्मक मनोविज्ञानको विश्लेषण गरी तिनबाट उनीहरुमा विकसित हुने मानसिकता, व्यवहार, स्वाभाव र चरित्र आदिको मनोवैज्ञानिक विश्लेषणपरक कथाहरु लेखिँदै जानेछन् भन्ने अपेक्षा गनु अस्वाभाविक ठानिने छैन ।’
पुस्तकलाई शब्द मिडिया प्रालिले प्रकाशनमा ल्याएको हो । १ स ८२ पृष्ठमा फैलिएको कथासङ्ग्रहको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
४. माधवी ओ माधवी – केशव दाहाल
‘मोक्षभूमि’ उपन्यासमार्फत नेपाली साहित्यमा नवीन स्वाद पस्किएका लेखक केशव दाहालकाे गैर–आख्यान विधाको कृति हाे, माधवी ओ माधवी । नयाँ शैलीमा लेखिएको यो पुस्तक मूलतः एक लेखकले विभिन्न समय र कोणबाट देखेको नेपाली समाज, यहाँको मनोविज्ञान र राजनीतिका घुम्तीहरूको वृत्तान्त हो । गैर–आख्यानात्मक भइकन पनि आख्यानको स्वाद पाइनु ‘माधवी ओ माधवी’को विशेषता हो ।
पुस्तककाे पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, ‘केही सुदूर अतीतको परिकल्पना । केही स्मृतिपटका तस्बिर | केही आफू हिँडेको पथवृत्तान्त । केही विगतका बिब्ल्याँटा वर्णन । केही वर्तमानका सङ्कट र द्विविधा । केही सुन्दर भविष्यका सपना | र, सबैको अन्तर्यमा नेपाली जनमानसको सपना र प्रयत्नका उकालीओराली अनि कुइनेटाहरू पस्किने निर्बन्ध लेखन हो, माधवी ओ माधवी ।’
किताब पब्लिसर्सले प्रकाशनमा ल्याएकाे पुस्तकको मूल्य ६ सय रूपियाँ रहेकाे छ ।
५. मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री – सूर्यबहादुर थापा
पाँच व्यवस्था र पाँच राजाको शासन भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको आत्मकथा हाे, ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ । पुस्तकमा थापाले जीवन भोगाइका विविध आयामहरूलाई ८ खण्डमा प्रस्तुत गरेका छन् ।
‘राणाशासनको अन्तिम प्रहरमा राणा दरबारमै शैशवकाल बिताएका उनी कलिलै उमेरमा सल्लाहकार सभाको अध्यक्ष भई राजनीतिमा छिरे । राजा महेन्द्रको विश्वस्त पात्र भई पञ्चायतको जग हाल्न सघाए । मन्त्री, मन्त्रिपरिषद्को अध्यक्ष अनि प्रधानमन्त्री भई पञ्चायतलाई सङ्गठित बनाए । त्यही पञ्चायती व्यवस्थामा उनी जेल गए, कोपभाजनमा परे । उनैले बहुदल रोक्दै निर्दललाई जनमत सङ्ग्रहमार्फत पञ्चायती व्यवस्थालाई वैध तुल्याए ।’, पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, ‘बहुदलपछि पूर्वपञ्चहरूलाई सङ्गठित गरी पुनः सरकार चलाए | राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा पुनः प्रधानमन्त्री भए, माओवादीसँग वार्ताको प्रयत्न गरे; असफल भए । दोस्रो जनआन्दोलनपछि ‘बहिष्कृत जस्तै बनाइएका उनी ज्येष्ठ सदस्यको हैसियतमा दोस्रो संविधान सभाको पहिलो बैठकको अध्यक्ष बने । पाँच व्यवस्था, पाँच राजा भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको साढे पाँच दशक लामो अविच्छिन्न राजनीतिक जीवन यात्राको दस्तावेज हो ।’
बुकहिलले प्रकाशनमा ल्याएकाे पुस्तकको मूल्य १ हजार ५ सय रहेकाे छ ।
६. खुडी – कमल सङ्घर्ष
गजलकार कमल सङ्घर्षको दोस्रो गजलसंग्रह हो, खुडी । खुडी अछामसहित सुदूरपश्चिम, कर्णाली प्रदेशका केही ठाउँहरूमा प्रचलित शब्द हो, जसको अर्थ पिँजडा भन्ने हुन्छ ।
नेपाली गजल साहित्यका चर्चित श्रष्टा सङ्घर्षको खुडी दोस्रो गजलकृति हो । पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय उनका कैफियत २०७० (संयुक्त गजलसंग्रह), सडक २०७३ (एकल) गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् । सडक सर्वाधिक बिक्रि भएको गजलसङ्ग्रह हो । प्रथमपटक रचनावाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको छ ।
खुडी गजलसंग्रहला शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।