काठमाडौँ, असोज १३ / साहित्यकार भुवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’ अर्पण गरिएको छ । पुरस्कार संस्थापक राधा कार्कीद्वारा आफ्ना माता–पिताको नाममा स्थापना गरिएको सो सम्मान तथा पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अर्पण गर्नुभयो । उहाँले ढुङ्गानालाई माला, खादा र सम्मानपत्रसहित २५ हजार नगद पुरस्कार अर्पण गरियो ।
मान्छेको खुसी साना साना कुरामा पनि रहेको हुन्छ भन्दै यो खुसी आफ्नो लागि ठूलो भएको ढुङ्गानाले बताउनुभयो। कार्कीले आफ्ना माता–पिताको नाममा स्थापना गरेको सम्मान पहिलो पटक आफूले पाउँदा गर्व लागेको बताउनुभयो ।
२८ वर्ष अघिको भेट र आशीर्वादले आज राधा कार्की साहित्यको क्षेत्रमा पनि परिचित नाम बन्न पुगेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। कार्कीले लगनशीलता, काम गर्ने कर्मठ बानी र सबैसँग हेलमेल हुन सक्ने स्वभावले यो सफलता प्राप्त गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँको प्रगतिमा सानो इँटा थप्न पाउँदा आफूलाई पनि खुसी लागेको ढुङ्गानाले बताउनुभयो । क्षमता भएको मान्छेलाई सानो सहयोग गर्दा पनि उन्नति र प्रगतिपथमा पुग्दछ भने सबैले त्यो काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले प्राज्ञपरिषद् सदस्यसमेत रहनु भएकी ढुङ्गानालाई आफूले सम्मान अर्पण गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गर्नुभयो । राधा कार्कीले आफ्नो प्रगतिको जरो पक्डेर सम्मान गर्नु अनुकरणीय कार्य रहेको उहाँले बताउनुभयो । आफ्ना बा–आमालाई सम्झेर कार्कीले यो सम्मान अर्पण गरेकोमा उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो । आफ्ना सन्तानको अध्ययनका लागि काठमाडौँ प्रवेश गर्नुभएकी कार्कीले त्यो मिसन पुरा गर्दै आफू पनि साहित्यमा काबिल बन्नु चानचुने कुरा नभएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
आफ्ना दिवंगत माता–पिताको सम्झनामा यो सम्मान तथा पुरस्कार स्थापना गरिएको संस्थापक राधा कार्कीले बताउनुभयो । ‘भुवन मेडमको प्रेरणाले नै म यो स्थानमा छु,’ उहाँले भन्नुभयो, ‘उहाँले लेख्नुपर्छ, लेख, राम्रो काम गर भन्नु भयो, त्यसै प्रेरणाले मैले लेख्न थालेकी हुँ ।’ झापाकी नेतृ चेतकुमारी दाहालको स्मरण गर्दै उहाँले भुवन मेडमको साथ सहयोग र प्रेरणाले आफू यो ठाउँमा रहेको उल्लेख गरिन् । आफूलाई सधैं आशीर्वाद दिने मान्छेलाई सम्मान गर्न पाउँदा खुसी लागेको पनि उहाँले सुनाउनुभयो । प्रज्ञा–प्रतिष्ठानजस्तो वौद्धिक, प्राज्ञिक र साहित्यिक संस्थामा बसेर काम गर्न र विद्वानहरुको संगत गर्न पाउँदा गर्व महसुस भएको पनि उहाँले बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।