काठमाडौं / नेपाली आख्यान क्षेत्रका सशक्त व्यक्तित्व परशु प्रधानको एक समारोहका बीच सार्वजनिक अभिनन्दन गरिएको छ ।शनिबार काठमाडौंमा आख्यानकार प्रधानलाई दोसल्ला र दुबोको मालासहित अभिनन्दनपत्र प्रदान गरियो । उक्त अवसरमा उनकी पत्नी साहित्यकार कल्पना प्रधानलाई पनि माला र दोसल्लासहित सम्मान गरियो ।
नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा समाजसहित २९ साहित्यिक संस्थाले आख्यानकार प्रधानलाई अभिनन्दन गरेका हुन् । कार्यक्रममा अभिनन्दित स्रष्टा प्रधानले आफू संघर्ष गर्दै यहाँसम्म आइपुगेको सुनाए । आफूलाई समाजसहित साहित्यिक संघ–संस्थाहरूले सार्वजनिक अभिनन्दन गरेकामा औधी खुसी लागेको उनले बताए ।
उक्त सामूहिक अभिनन्दनपत्रमा प्रधानको साहित्यिक जीवनका यावत् प्रसंग उल्लेख छ ।
कार्यक्रममा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले प्रधानसँगको मित्रताको चर्चा गरे । उनले उमेरका हिसाबले आफू जेठो भए पनि लेखनका हिसाबले परशु प्रधान आफूभन्दा निकै जेठो र अग्लो भएको बताए ।
नेपाल स्रष्टा समाजको स्थापनाकारहरूमध्येका एक साहित्यकार प्रधान एउटा सिंगो संस्थाका रूपमा खडा भएको समाजका संरक्षक पवन आलोकले बताए । अभिव्यक्ति द्वैमासिक पत्रिकाका प्रधानसम्पादक समेत रहेका आलोकले भोजपुरको विद्यालयमा पढ्दा आफू प्रधानको विद्यार्थी भएको स्मरण गरे । प्रधानको साढे ६ दशकको साहित्यिक साधना हरेकका लागि प्रेरणादायी भएको उनले उल्लेख गरे ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ३०० भन्दा बढीको संख्यामा कथा लेखिसकेका आख्यानकार प्रधानमाथि आफूले लेखेको निबन्धको अंश वाचन गरे ।
स्रष्टा समाजसहित अभिव्यक्ति द्वैमासिक, रचना द्वैमासिक, जनमत मासिक, साहित्यपोष्ट डटकम,शैली साहित्य समाज नेपाल,घुम्ती कविगोष्ठी नेपाल, नारी साहित्य प्रतिष्ठान,सुरभि साहित्य प्रतिष्ठान, नियात्रा समाज नेपाल,भीमदर्शन स्मृति कोष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर, लीलाध्वज साहित्य प्रतिष्ठान, नवउद्घोष साहित्यिक त्रैमासिक,राष्ट्रिका साहित्य प्रतिष्ठान, ज्योति साहित्य प्रतिष्ठान, अक्षरमार्ग साहित्य प्रतिष्ठान, भैरव पुरस्कार गुठी, साहित्य सदन नेपालले आख्यानकार प्रधानको सार्वजनिक अभिनन्दन गरेका हुन् ।
उपन्यास समाज नेपाल, शंकर लामिछाने प्रतिष्ठान, दायित्व वाङ्मय प्रतिष्ठान, गुञ्जन साहित्य समूह, नारी स्रष्टा समाज, वासु शशी स्मृति परिषद्, जरा फाउण्डेसन, कल्पतरु मासिक, साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विधान आचार्य, देविका तिमिल्सिनालगायत व्यक्तिले बोलेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।