नेपालगंजस्थित महेन्द्र पुस्तकालयको स्तरवृद्धि गर्न साहित्यकारहरू र पुस्तकालयको व्यवस्थापन समितिको बीचमा छलफल भएको छ ।

गत मंगलबार पुस्तकालयकै भवनमा साहित्यकारहरू र व्यवस्थापन समितिबीच छलफल भएको हो । उक्त छलफलमा ‘कर्मयोगी बद्री विक्रम थापा स्मृति सेवा गुठी काठमाडौं’ का कोषाध्यक्ष किरण थापाले पुस्तकालयसम्म ग्रामीण क्षेत्रको पहुँच र बालबालिकामैत्री बनाउन आवश्यक रहेको बताए ।

कोषाध्यक्ष थापाले आफ्ना पिता बद्रीविक्रम थापाले बाँके जिल्लामा बडाहाकिम भएर सेवा गरेको र आफ्नो मावली यही जिल्लामा भएको कारणले यो ठाउँसँग आफ्नो अपनत्व भएको अनुभव सुनाएका थिए । उनले मावली र बुवाको कर्मथलो भएको नाताले पनि आफूलाई यस क्षेत्रप्रति एउटा बेग्लै लगाव भएको पनि बताए । उनले महेन्द्र पुस्तकालयलाई सबै कुराले सुसम्पन्न पार्न आफू सम्बद्ध गुठीले पुस्तकालयसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । उक्त छलफलमा नेपाल लघुकथा समाजका अध्यक्ष श्रीराम श्रेष्ठ ‘रोदन’ ले महेन्द्र पुस्तकालयको सुविधा र स्तरवृद्धि गर्न व्यवस्थापन समितिले योजनाबद्ध ढङ्गबाट अघि बढ्नुपर्ने सुझाव दिएका थिए । यसकालागि आफूले पनि विभिन्न दातृ समूहबाट सहयोग जुटाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । छलफलमा अध्यक्ष रोदनले पुस्तकालयलाई क्षमता र सुविधाले सम्पन्न बनाउनकालागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

बारखरी डटकमका साहित्यसम्पादक राजेश खनालले पुस्तकालयले स्रष्टा र पाठकबीच समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए । उक्त छलफलमा महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव र सचिव मणिरत्न अर्यालले महेन्द्र पुस्तकालयको भावि योजनाबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारीहरुका साथसाथै कथाकार सनत रेग्मी, किरण आचार्य, डा. इन्द्रबहादुर भण्डारी, खगेन्द्र गिरि ‘कोपिला’, ऋचा लुइटेल लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो ।