प्रा रामकुमार पाँडेको प्रमुख आतिथ्य र ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा हालै नेपाल, भारत र अमेरिकासम्मका साहित्यकारहरूको सहभागितामा प्रतिष्ठानको अनलाइन १८६औँ शृङ्खला सम्पन्न भयो ।

कार्यक्रममा दार्जिलिङबाट डा. शाङ्मु लेप्चाले साहित्यको उन्नयनमा लाग्दै गर्दा हामी समाजका विसंगतिविरूद्ध चुप बस्न सक्दैनौँ भन्नुहुँदै अहिले चाडपर्वको मुखमा दार्जिलिङका चिया बगानमा कार्यरत मजदुरहरू आन्दोलित रहेको जनाउनु भयो । उनीहरू अहिले वर्ष दिनको बोनस पाउन मालिकलाई गुहारिरहेको तर मालिकहरू चुप लागेर बसेको जनाउनुभयो ।

प्रत्येक वर्ष पाउनु पर्ने बोनस मजदुरहरूको हक भएकाले साहित्यकारहरूले त्यसतर्फ पनि आवाज उठाउनु पर्ने बताउनुभयो ।

देविका मंग्रान्ति राईले दार्जिलिङ क्षेत्रमा उहिले भाषा साहित्यको लागि भएको आन्दोलन, सरकारले भाषा विस्थापन गर्न खेलेको कुटिल भूमिका र चिया मजदुरको वर्तमान दु:खको स्मरण गर्नुभयो।

यस्तै मन्जुला तामाङ सुब्बाले भाषा आन्दोलनका लागि जेल बसेको स्मरण गर्दै तत्कालीन समयमा सरकारी आतंकबाट त्रसित भै बाँचेर आज भाषाको उन्नयनमा लागिपर्दा हर्षको अनुभूति भैरहेको विचार व्यक्त गर्नुभयो।

गुजरातबाट डा गोकुलबहादुर क्षत्रीयले आफ्नो हिन्दी कवितालाई नेपालीमा उल्था गरी वाचन गर्नुभयो । उहाँले आफ्नो पुर्ख्यौली नेपालको रुकुमकोटलाई सम्झनु भयो ।

ज्योति साहित्य प्रतिष्ठानले नेपाली र भारतीय साहित्यकारबीच सेतुको काम गरिरहेकोमा उहाँले खुसीसमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा श्रष्टाहरू गंगा लिगल (भैरहवा), रमेशचन्द्र अधिकारी (धनकुटा), कल्पना पौडेल जिज्ञासु (अध्यक्ष- विश्व नेपाली साहित्री महासङ्ग नेपाल शाखा), देवीका मंग्रान्ती राई( दार्जिलिङ), मन्जुला तामाङ्ग सुब्बा( दार्जलिङ), टीका ढुङ्गेल ( गान्तोक), लुइस विष्ट( गान्तोक), जनार्दन अधिकारी धड्कन (अध्यक्ष, चन्द्रागिरी साहित्य प्रतिष्ठान), गंगा अभिलाषी (कोलोराडो, अमेरिका), निरू बिन्दु ( कालेबुङ्ग, कालिम्पोङ्ग), सीता पाण्डे(काठमाडौं ), उमा ओडारी (पाँचथर), अग्नि अवास( बर्दिबास), राजेश्वरी काफ्ले( लालबन्दी), उर्मिला पन्त(काठमाडौं ), मिरा काफ्ले ( धुलाबारी) , टीका ढुङेल(गान्तोक), सरिता तुलाधर( बिराटनगर), नारायण घिमिरे(बर्दिबास), गोपाल यादव (गौशला, महोत्तरी), सुमित्रा थामी अविरल (दार्जिलिङ) ले पनि भर्चुअल रूपमा कविता वाचन गर्दै आउँदो चाडपर्व बडा दशैं, तिहार र छठको शुभकामना आदानप्रदान गरियो ।

ज्योति साहित्य प्रतिष्ठानले १५ वर्षदेखि निरन्तर प्रत्येक महिनाको पहिलो शुक्रबार कार्यक्रम गर्दै आइरहेको छ ।