
कवि एवम् गजलकार दिलीप ढकाल नेपाली साहित्यमा उपन्यासकारको रुपमा उदाएका छन् । उपन्यास ‘छलाङ’ मार्फत ढकाल नेपाली साहित्यमा उपन्यासकारका रुपमा उदाएका हुन् ।
समालोचक एवम् समीक्षक समेत रहेका ढकालको सो उपन्यास शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा एक कार्यक्रमका बीच विशिष्ट अतिथि प्रा.डा. कृष्णहरि बराल, जातीयविभेदविरूद्धका अभियन्ता हिरा विश्वकर्मा लगायतले विमोचन गरे ।
उपन्यासभित्र जातीय विभेद विरुद्धको आवाज उठाइएको यस उपन्यासका बारेमा डा. बराल, डा. अशोक थापा र उपप्राध्यापक अनुपमा रेग्मीले कृति समीक्षा गरेका थिए ।
समय परिर्वतनसँगै परिवर्तन हुन नसकेको मानव चेतनाविरुद्ध कथानक बुनिएको उपन्यासकार ढकालले सो अवसरमा बताए । ‘जातीय विभेद विरुद्धको छलाङ हो, समतामूलक समाज निर्माणको छलाङ हो । यति मात्रै होइन, वर्तमान अराजनीतिक अवस्थाको राजनीतिक छलाङ हो र देश विकासको छलाङ पनि हो,’ उपन्यासकार ढकालले भने ।
२७९ पृष्ठको यो उपन्यासलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

