काठमाडौँ, असोज ७ / कवि कैलासकुमार पाण्डेयको नवीनतम कविताकृति ‘आकाश छुने रहर’ बजारमा आएको छ । गीत, गजल र कवितामा यसअघि नै चार कृति प्रकाशित गरिसकेका पाण्डेयको आकाश छुने रहर पाचौँ कृति हो ।
कवि राजेन्द्र तारकिणीले ‘आकाश छुने रहर’ कविता सङ्ग्रहभित्र राष्ट्रियताको भावना, निम्नवर्गीय एवं हेलितपेलित तप्काका मानिसप्रति सहानुभूति, नारीमाथि हुने हिंसाको विरोध, आफ्नोपन र पुर्खाको देनप्रति गौरव, ग्रमीण तथा शहरी समाजको विषम चित्र लगायत वविध भाव र स्वादका कविता रहेको बताए ।
कवि स्वयं पाण्डेयले लेखन सिद्धान्त, व्यवहार, प्रयोग, वादभन्दा पर केही छ भने त्यसमा टेकेर लेख्ने सोच पलाएर मात्र कविता लेखेको बताए । ‘त्यसका पछाडि आकाश छुने रहर नै महत्वपूर्ण रूपमा देखियो । सपनाको ओइरो लाग्छ, परिकल्पनाको पहाड बन्छ । आखिर सपना सबै सपना नै हुन्, कल्पना गर्न त कसले रोक्न सक्छ र ? रहर गरेर मात्र पनि कहाँ हुन्छ र ?,’ उनले भने, ‘जीवनमा आफूले गरेको परिश्रमले दिने फल मात्रै आफ्नो हुन्छ, अरू सबै कल्पना मात्र हुन् । तर पनि इच्छा, चाहना, आकांक्षा, रहर आआफ्नै हुन्छन् । यथार्थमा रहर गर्न नसके पनि कवितामा आकाश छुने रहर गरेँ । जीवनका भोगाइ, सामाजिक अवस्थिति, समसामयिक मुद्दाहरू, नितान्त निजी भावनाहरू यी कवितामा पस्केको छु ।’
पाण्डेयका कवितामा सुन्दर समाजको परिकल्पना, मानवीय मूल्य–मान्यता ह्रास हुँदै गइरहेको र सांस्कृतिक विचलनप्रति चिन्ता, विकृति–विसङ्गतिप्रति शालीन विद्रोह सामाजिक अवस्थिति, राजनीतिक व्यंग्यचेत, जीवन–जगत्का भोगाइ एवं अनुभूतिहरू सरल र मीठो शैलीमा प्रस्तुत गरिएको सम्पादन हाउसका दीपक नेपालले बताए ।
सम्पादन हाउस प्रा.लि.ले बजारमा ल्याएको उक्त संग्रहभित्र ५२ वटा कविता समाविष्ट छन् । कृतिको मूल्य रु २५० राखिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।