भूगोल साहित्य समाजको तेस्रो वार्षिकोत्सव तथा साधारणसभा असोज ६ गते सम्पन्न भएको छ । कार्यक्रम समाजको सभाकक्ष दरबारमार्गमा आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ तथा अतिथिहरूमा मानार्थ सदस्य सुशील श्रेष्ठ रहनुभएको थियो ।
दुई सत्रमा गरी आयोजना गरिएको सो कार्यक्रमको पहिलो सत्रमा झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार प्रदान गर्नुका साथै संस्थाका मानार्थ र आजीवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो भने दोस्रो सत्रमा साधारणसभा सम्पन्न गरिएको थियो ।
पहिलो सत्रको कार्यक्रममा समाजले यसै वर्षदेखि प्रदान गर्न थालेको वि.सं. २०७९ सालको झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार नियात्राकार, इतिहासकार, अनुसन्धाता एवम् लेखक देवीचन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो ।
यसै वर्ष स्थापित सो पुरस्कार रु. २५,००५ नगद राशीको छ । नगदको साथमा सम्मानपत्र समेत प्रदान गरिने सो पुरस्कार समाजका आजीवन सदस्य ओम आचार्यले स्थापना गर्नुभएको हो । पुरस्कार वार्षिक रूपमा प्रदान गरिने छ ।
पुरस्कृत स्रष्टा श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको स्थापनाकालदेखि नै वित्तीय सेवामा प्रवेश गरी तीन दसकअघि निवृत्त हुनुभएका अग्रज बैंकर हुनुहुन्छ । बैंकको जिम्मेवार कर्मचारी हुँदाहुँदै पनि साहित्य सिर्जना तथा अनुसन्धानका क्षेत्रमा उहाँले देखाउनुभएको सक्रियता सबैका लागि अनुकरणीय रहेको छ ।
हाल ८५ वर्षको उमेरमा पनि उहाँ अनुसन्धान र नेपालको आर्थिक इतिहास लेखनमा सक्रिय हुनुहुन्छ । उहाँका साहित्यिक, अनुसन्धानात्मक र ऐतिहासिक कृति प्रकाशित छन् । काठमाडौँबाहिर, हुम्ला बोल्छ मानसरोबरमा, घामपानीको छाप बिदो र नेपालमा प्रयोगात्मक बैंकिङ उहाँका चर्चित कृति हुन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पुरस्कृत व्यक्तित्व देवीचन्द्र श्रेष्ठले पुरस्कार र सम्मानको लागि नभई आफूले अध्ययन, अनुसन्धान र लेखनमार्फत आफूलाई सधैँ सक्रिय राख्दै आएको बताउनुभयो र समाजको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरणकुमार श्रेष्ठले समाजका साहित्यिक क्रियाकलापको प्रशंसा गर्नुभयो भने आगामी दिनमा पनि समाजले अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो ।
पहिलो चरणको कार्यक्रममा मानार्थ सदस्य श्री सुशील श्रेष्ठ र कवि मित्रलाल पगेनीले शुभकामना व्यक्त गर्नु भएको थियो । पहिलो सत्रको कार्यक्रममा प्रमुख अतिथि किरणकुमार श्रेष्ठ, कवि मित्रलाल पगेनी, जनार्दन पौडेल र वेद लावतीले आआफ्ना कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व श्री श्रेष्ठको व्यक्तित्व र योगदानबारे समाजका सदस्य श्री नवराज पुडासैनी ज्योत्सनाले प्रकाश पार्नुभएको थियो भने आगन्तुक अतिथिहरूको स्वागत उपाध्यक्ष दिनेश विक्रम थापाले गर्नुभएको थियो ।
दोस्रो सत्रमा सम्पन्न साधारणसभाले समाजको आर्थिक वर्ष २०७८/७९को आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित गर्नुका साथै विनोद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
दुवै कार्यक्रम सचिव शैलेन्द्रकुमार शाहले सञ्चालन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।