मकवानपुर / वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको ८६औं जन्मजयन्तीका अवसरमा आज हेटौंडाका साहित्यकारले उहाँको प्रतिमामा माल्यार्पण कार्यक्रम गरेका छन् ।
साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । हेटौंडा–५ मा अवस्थित पुष्पलाल स्मृति पुस्तकालय परिसरमा रहेको अर्यालको प्रतिमामा माल्यार्पण गरेर उहाँको सम्झना गरिएको छ ।
कार्यक्रममा बुढ्यौली समाजका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालले माल्यार्पण गर्दै अर्यालको विषयमा बोल्नुभएको थियो । पुष्पलाल स्मृति पुस्तकालय परिसरमा २०६३ सालमा निर्माण गरिएको प्रतिमा मोरङका नविन सुवेदीले बनाएको र सो प्रतिमा काठमाडौंपछि हेटौंडामा रखिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपाने, प्रलेस केन्द्रीय सदस्य मसान उपासक, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने, रमेश अधिकारी, यमनदेव उत्प्रेरक, किशन पौडेल, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी र मातृभूमि साहित्य समाज मकवानपुर अध्यक्ष माधव पोखरेललगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।
संगम र सिस्नुपानीले प्रदान गर्ने भैरव अर्याल सम्मानसहितका साहित्यक कार्यक्रम आगामी मंसिरमा आयोजना गर्ने कार्यक्रम रहेको संगमका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।