काठमाडौं / अपांगताप्रति समाजमा विद्यमान नकारात्मक, यदाकदा पूर्वाग्रही एवम् विभेदपूर्ण धारणा र सोचमा परिवर्तन ल्याई समतामूलक समााज निर्माण गरी सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने अभिप्रायले डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’को छनोट प्रक्रिया चलिरहेको छ ।

‘अन्तर्दृष्टि नमुना शिक्षक’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि समावेशी शिक्षा सञ्चालित देशभरका विद्यालयमा विद्यार्थीसँग सर्वेक्षण भइरहेको छ । यसै क्रममा पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारमध्ये एक जनालाई पुरस्कृत गर्न ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ स्थापना गरिन्छ ।

प्रमाणपत्रसहित १० हजार राशिको यो पुरस्कारका लागि सञ्चारकर्मी अथवा जानकार जोकसैले प्रकाशित या प्रसारित सामग्री antardrishti2020@gmail.com मा पठाएर सहयोग गरिदिनुहुन अन्तरदृष्टि पुरस्कार समितिले अनुरोध गरेको छ ।

सामग्री ०७८ साल कात्तिक १ देखि ०७९ असोज मसान्तभित्र प्रकाशित र प्रसारित हुनुपर्ने, अपांगता क्षेत्रमा सकारात्मक र उत्प्रेरणामूलक विषयमा आधारित भई सामग्री लेखिएको हुनुपर्ने, रेडियो र टेलिभिजनको हकमा आफ्नो कार्यक्रममा रिपोर्ट र अन्तर्वार्ताका माध्यमबाट अपांगतासम्बन्धी विषय प्रसारण गरेको हुनुपर्ने, यसरी प्रकाशित या प्रसारित सामग्री कम्तीमा दुई ओटा हुनुपर्ने संस्थाका संरक्षक कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विगतका वर्षमा समेत अपांगता क्षेत्रमा सामग्री प्रसारण र प्रकाशन गर्दै आएका पत्रकारका हकमा भने एउटा मात्रै सामग्री भए पनि मापदण्डमा समावेश गरिने, अपांगताको सवालमा नवीनता र सिर्जनशीलता प्रयोग भएका सामग्रीलाई प्राथमिकता दिइने, अपांगता भएका व्यक्तिहरूको मर्यादामा ठेस पुग्ने गरी प्रकाशित र प्रसारित सामग्रीलाई मापदण्डमा समावेश नगरिने पनि संस्थाद्वारा जानकारी गराइएको छ ।