हेटौँडा, असोज ३ / मातृभूमि साहित्य समाज हेटौंडाद्वारा आयोजित २४ औँ स्थापना दिवसको उपलक्ष्यमा, शुभ विजया दशमी, दीपावली तथा छठ पर्वको पूर्व सन्ध्यामा शुभकामना तथा रचना वाचन कार्यक्रम आयोजन गरियो ।
वरिष्ठ लघुकथाकार डा. पुष्करराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवसरमा चौथो संस्मरण मातृभूमि लघु पुस्तिका विमोचनसमेत गरियो ।
साथै मातृभूमि साहित्य समाजका कार्यसमिति सदस्य किशन पौडेलद्वारा हरेक वर्ष उत्कृष्ट लघुकथा कृतिलाई कृतिगत रूपमा नगद रु ११,१११/ राशिको “मातृभूमि लघुकथा रत्न सम्मान” प्रदान गर्ने घोषणा पनि गरियो ।
कार्यक्रममा विभिन्न साहित्यिक सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधि तथा सामाजिक शैक्षिक व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा संस्थापक अध्यक्ष हयग्रीव आचार्य, मकवानपुर सर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, महाकाव्यकार मुना अर्याल लगायत तीन दर्जन स्रष्टाहरूले शुभकामना एवम् रचना वाचन गर्नुभएको थियो ।
समाजका अध्यक्ष माधव पोखरेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष प्राध्यापक कृष्ण दाहालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव हेमन्त ढुङ्गेलले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।