भक्तपुर / सिर्जना अभियान समाजले स्रष्टा मञ्जु निरौला हाडालाई सिर्जना र संवाद कार्यक्रममा प्रस्तुत गरेको छ । समाजले लेखकहरुका कृति र अनुभूतिमा केन्द्रित भएर अन्तरक्रियात्मक कार्यक्रमको लागि सिर्जना र संवाद सुरु गरेको हो ।

कार्यक्रममा स्रष्टा निरौलाले विदेशमा पुगेपछि मात्र आफनो भाषा संस्कृतिको महत्व बुझेको बताउँदै त्यसप्रतिको चिन्ता र चासोले लेखनतर्फ उन्मुख भएको बताउनुभयो । साथै उहाँले कामको सिलसिलामा देखेभोगेका जेष्ठ नागरिकहरुका पीडा र समाजमा तिनीहरुको अवस्थाका विषयलाई लिएर यथार्थमा अमेरिकाको दोश्रो भाग प्रकाशित गराएको पनि उल्लेख गर्नुभयो ।

कथाकार धु्रव मधिकर्मीले स्रष्टालाई कुनै क्षेत्र विशेषको भनेर नहेरी सबैको हो भन्ने भावनाले हेर्नुपर्ने भन्दै यथार्थ अमेरिकाको दोश्रो भाग कृतिमा जेष्ठ नागरिकहरुका विविध पक्षलाई प्रभावकारी रुपमा अभिव्यक्त गरिएको बताउनुभयो ।

कथाकार भागीरथी श्रेष्ठले साहित्यमा जेष्ठ नागरिकहरुका बारेमा लेखिन थालेकोबताउँदै मञ्जुको कृतिले यस विषयलाई राम्रोसँग उठाएको छ भन्नुभयो ।

कार्यक्रममा भाषासेवी नरेन्द्रभक्त हाडा, कवि विपिन बनेपालीले पनि बोल्नुभएको थियो ।

समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकारहरू सुरेन्द्रलाल भुजू, हरिगोविन्द भोमी, माणिकबाबु ग्वंग, विमल ताम्रकार, ध्रुवनारायण जोन्छेँ , पशुपतिमान पमा, राजेन्द्र चित्रकार, न्हुछेभक्त कवां, दीपक मास्के, सूर्यलक्ष्मी भोमी लगायतका स्रष्टाहरूको उपस्थिति थियो ।