एम्बुलेन्स सञ्चालन सहयोगार्थ चर्चित गायक भीषण मुकारुङ राईको एकल साङ्गीतिक साँझ हुने भएको छ ।
असोज ६ गते बिहीबार भोजपुरे सेवा समाज, काठमाडौँले भीषणको एकल सांगीतिक साँझ गर्न लागेको हो ।
सांस्कृतिक संस्थान, जमलमा हुने सांगीतिक साँझ सामाजिक सेवाभावका लागि आयोजना गर्न लागिएको भोजपुरे सेवा समाज, काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पाले बताए ।
नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ–३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्था सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको कार्यक्रमका संयोजक दाँवाली मिलन क्लब, काठमाडौँका अध्यक्ष रोशन श्रेष्ठनले जानकारी गराए ।
‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो । यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ गायक मुकारूङले सुनाए ।
मुकारुङ भोजपुरको ट्याम्के मैयुङ–३ अन्नपूर्णका हुन् । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन्। उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन् । उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन् । कार्यक्रममा सबैलाई खुल्ला निमन्त्रणा गरिएको संयोजक श्रेष्ठले जानकारी गराए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।