रमेश विकल साहित्य प्रतिष्ठानद्वारा भदौ २६ गते आइतबार आयोजित अन्तर विद्यालय एक दिवशीय “स्थलगत बालकथा लेखन प्रशिक्षण तथा प्रतियोगितात्मक कार्यशाला” मा नवसुन्तखान मा विका सरिना भारती प्रथम हुनुभएको छ ।

त्यसरी नै अरुणोदय माविका छात्रा एलिसा मगर द्वितीय तथा नवसुन्तखान माविकै छात्रा अस्मिता गिरी तृतीय भएकाछन् भने सेन्टेनियल मावि र उत्तरवाहिनी स्कुलका छात्रद्वयले सान्त्वना पुरस्कार प्राप्त गरे।

गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत २२ जना प्रतियोगी विद्यार्थीहरूद्वारा लेखिएका बालकथाहरूको मूल्याङ्कन बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेल र गोमा प्रसाईले गर्नुभएको हो ।

आयोजक संस्थाकै सभाकक्षमा आयोजित कार्यक्रमको प्रथम चरणमा कथा लेखन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको थियो ।

लगत्तै स्थलगत कथा लेखन प्रतियोगिता र दोस्रो चरणमा पुरस्कार अर्पण कार्यक्रम भएको थियो । कार्यक्रममा उत्कृष्ट पाँच सहभागीलाई प्रोत्साहनस्वरूप प्रमाण–पत्र, नगद पुरस्कार प्रदान गरिनुका साथै भाग लिएका छात्र/छात्रालाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

पुरस्कारको रकम क्रमश: ५ हजार, ४ हजार, ३ हजार र सान्त्वना दुई जनालाई नगद रु १५०० /१५०० प्रदान गरियो ।

दुई सत्रमा विभक्त कार्यक्रममा क्रमश: प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक वसन्त रिजाल र सदस्य रामप्रसाद पौडेलद्वारा सभापतित्व गरिएको थियो।

उक्त कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, गोकर्नेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजिव थापा, प्रतिष्ठानमा महासचिव विजय चालिसे , गङ्गा कर्माचार्य , कार्यक्रम सहजकर्ता सुशील आचार्य , पुरस्कृत विद्यार्थी प्रतिनिधिद्वय सरिना भारती र अभिसेक सिग्देल लगायतले आफ्नो विचार राख्नुभएको थियो ।

आलोक चालिसेबाट सन्चालित उक्त कार्यक्रममा बिकलको ब्यक्तित्व र कृतिको बारेमा सुभाश गजुरेलबाट तयार पारीएको ब्रित्तचित्र मार्फत चौथो पुष्तालाई परीचित गराइएको थियो । साहित्य प्रेमी, बिद्यालयका शिक्षकहरु सहित अन्य अतिथिहरुमा कल्पतरु द्वैमासिकका सम्पादक नवराज पुडासैनी, रेहित सैजु, राजेशमान केसी लगायतको उपस्थिति थियो ।