
आँबुखैरेनी, भदौ २५ / प्रसिद्ध आँदिमुल बराही क्षेत्रमा काव्योत्सव गरिएको छ । आँबुखैरेनी वाङ्मय परिषद्को आयोजनामा भदौ २४ र २५ गते कार्यक्रम गरिएको हो । आँबुखैरेनी गाउँपालिकासँगको समन्वयमा कार्यक्रम गरिएको हो ।
सत्रसय फाँटदेखि १५ मिनेटको सवारी यात्रामा पुगिने आँदिमुलमा प्रसिद्ध आँदिमुल बराही मन्दिर छ । वाङ्मयले मुलुकका विभिन्न ठाउँबाट आएका स्रस्टालाई उत्सवको दोस्रो दिन आँधिमुलमा लगेर काव्य विमर्श कार्यक्रम गरेको हो । कार्यक्रममा कविता वाचन सँगै स्थानीय सांस्कृतिक नाच देखाइएको थियो ।
राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट आएका स्रस्टाहरू खुमनारायण पौडेल, सुरेन्द्र अस्तफल, रमेश प्रभात, तेजविलास अधिकारी, मोदनाथ मरहट्टा, शैलज पौडेल, नारायण मरासिनी, भीम रानाभाट, रुपिन्द्र प्रभावी, पुरुषोत्तम आचार्य, यस लामा, नारायण पोखरेल, सुरेन्द्र देवकोटा, मणिराज सिंह, सुवास गजुरेल, माणिकरत्न शाक्य, अनुराग अधिकारी, आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याललगायतले कवितावाचन गरेका थिए । जिल्लामा साहित्यिक गतिविधिलाई जीवन्त राख्न र यस क्षेत्रका सांस्कृतिक सम्पदाको संरक्षण गराउने उद्देश्यले पालिकासँग समन्वय गरेर कार्यक्रम गरिएको परिषद्का अध्यक्ष अनिल श्रेष्ठले बताए ।
दोस्रो दिन शनिबारको कार्यक्रमका प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिका प्रमुख शुक्र चुमान क्षेत्रीले आफ्नो पालिकामा मुलुकका विभिन्न जिल्लाका स्रस्टाहरू ल्याएर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । यो किसिमका कार्यक्रम आयोजना गरिँदा स्थानीय तहका प्रसिद्ध स्थानहरूको प्रचारप्रसार भै पर्यटनको विकासमा सहयोग पुग्ने प्रमुख क्षेत्रीले बताए । सोही समारोहमा आँदिमुलको छेवैमा बसेर मनोज योञ्जन लामा र राजेन्द्र सुवेदीले क्यानभासमा चित्र कोरेका थिए । चित्रमा प्राकृतिक चित्रण गरिएको थियो ।
काव्य उत्सव अन्तर्गत पहिलो दिन शुक्रबार आँबुखैरेनी बजारमा गरिएको कार्यक्रममा कवि खुमनारायण पौडेलसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । आँबुखैरेनी स्रस्टा समाजले चितवनका कवि पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार-२०७८ बाट सम्मान गरेको हो । उक्त समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार काजी रोशनले कवि पौडेललाई दोसल्ला ओढाएर नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेका हुन् । तीसको दशकदेखि कवितामा आफ्नो अलग पहिचान र विशिष्टता हासिल गरेका र विभिन्न साहित्यिक कृति र पत्रिकाहरूको सम्पादन, प्रकाशनमार्फत निरन्तर साहित्यिक सेवाको योगदानको मूल्यांकन गर्दै कवि पौडेललाई सम्मान गरिएको समाजका अध्यक्ष अनिल श्रेष्ठले बताए । सम्मानित पौडेल त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख छन् । पौडेलका अन्तिमेत्थम् (२०४९), नरमेध (२०५६) र शीतनिद्रा (२०७३)लगायतका कृति प्रकाशित छन् ।
सोही समारोहमा इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कारबाट कलाकार सुभास गजुरेल, कृष्णदास – चेतकुमारी मल्ल उत्कृष्ट खोज पत्रकारिता पुरस्कारबाट विद्या चापागाईं र महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कारबाट मञ्जु थापा र सुलना गुरुङलाई सम्मान गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 






