ड्यालस (अमेरिका) / श्रष्टा साँझ अमेरिकाले आफ्नो पाँचौँ वार्षिक उत्सवका अवसरमा आइतबार अमेरिकाको ड्यालसमा साहित्यकारहरुलाई सम्मान गरेको छ ।

साहित्य क्षेत्रमा समसामयिक विषयहरूमा निरन्तर छलफल चलाउँदै आएको श्रष्टा साँझ पछिल्लो समयमा निकै क्रियाशील संस्थाका रुपमा परिचित छ ।

सोही अवसरमा अमेरिकामा रहेर नेपाली भाषा साहित्यमा योगदान गरेका ११ जना श्रष्टाहरुलाई अर्भिंगमा आयोजित पाँचौँ वार्षिक उत्सव कार्यक्रममा सम्मानित गरिएको छ । सम्मानित हुनेहरूमा बैकुण्ठराज आचार्य, डा. शिलु घिमिरे, राधाकृष्ण काफ्ले, सञ्जय घिमिरे, पुण्डरी अर्याल, लिलु गुरुंग, नेत्रबन्धु पोखरेल, उद्धव पोखरेल, खेमराज पोखरेल, भगवती पौडेल र बिटु केसी रहनु भएको छ ।

त्यस्तै श्रष्टा साँझलाई निरन्तर रुपमा सहयोग गरेर उचाईमा पुग्न सहयोग गर्ने शैलेशराज आचार्यलाई समेत विशिष्ट सम्मान गरिएको छ । कार्यक्रममा सानै उमेरदेखि श्रष्टा साँझका विभिन्न गतिविधिदेखि निरन्तर सक्रिय र सहभागी चाहना खरेललाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

वार्षिक उत्सव कार्यक्रममा श्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षितले अहिलेसम्म गरेका कार्यहरूका बारेमा जानकारी दिनुहुँदै साहित्यको क्षेत्रमा साँझले एउटा पहिचान बनाएको उल्लेख गर्नुभयो । त्यसका लागि सहयोग गर्ने सबैप्रति धन्यवादसहित आभार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा एनआरएन अन्तर्राष्ट्रिय समितिका महासचिव गौरीराज जोशी, सम्मानित साहित्यकारहरुको तर्फबाट राधाकृष्ण काफ्ले, सचिव वैकुण्ठराज आचार्य, भगवती पौडेल, कुशाग्र वाग्ले, शशी भट्टराई, तारा बराल, राजेन्द्र वाग्ले, निर्मला राई, हरि बहादुर थापा लगायतले संस्था र साहित्यिक गतिविधिका बारेमा भनाइहरू राख्नु भएको थियो ।

त्यस अवसरमा संस्थाले प्रकाशित गरेको स्मारिकाको समेत विमोचन गरिएको थियो ।

कार्यक्रमकै अवसर पारेर ड्यालस फोर्टवर्थमै पहिलो पटक नेपाली पुस्तकको प्रदर्शनीसमेत गरियो । त्यस अवसरमा पुस्तकप्रेमीहरूले उपलब्ध पुस्तकहरूमध्ये आफूलाई मन परेका किताबहरू खरिद गरेका थिए ।