पोखरा, भदौ २१ / आउँदो असोज १ गते सरोज गोपाल स्मृति साँझ पोखरा सभाहलमा हुने भएको छ । कालजयी गीतका संकलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौं स्मृति दिवसको अवसर पारेर सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजना हुन लागेको हो ।
स्व.सरोज गोपालले आफ्नो जीवनकालमा विभिन्न कालजयी गीत सङ्गीतवद्ध गर्नुका साथै आफ्नो मौलिक आवाज दिएका थिए । देउराली उकाली चढेर ….. नक्कलीलाई भगााइ लग्यो झिल्केले….दाइको घर कहाँ हो कहाँ ….. करोडौं मुटुहरुको ढुकढुकी… जस्ता दर्जनौं चर्चित लोक तथा राष्ट्रिय गीतले गर्दा आम नेपालीले सम्झिरहने नाम हो, सरोज गोपाल वज्राचार्य ।
२००९ साल मंसीर २ गते जन्मेका गोपाल बज्राचार्य भए पनि गीत गाउन थालेपछि उनले सर्जकहरू जातपातभन्दा माथि हुन्छ भन्दै आफ्नो नामै फेरेर सरोज गोपाल बनाएका थिए । सयौं गीत गाएका उनलाई यसै नामले संसारले चिन्यो । नगर विकास प्रशिक्षण केन्द्रमा लामो समय जागीरे जीवन बिताएका उनले ०४७ सालताका त्यहाँबाट स्वैच्छिक अवकाश लिएका थिए । त्यसपछि उनले रेडियो नेपालको पोखरास्थित क्षेत्रीय प्रशारण केन्द्रमा लामै समय कार्यक्रम प्रमुखका रुपमा सेवा गरे ।
माछापुछ्रे एफएममा स्टेशन प्रमुखका रुपमा काम गरेका थिए । उनले गायिका श्रीमती बाबा राणासँग मिलेर पोखरामै ’सरोज बाबा युगल साँझ’ मा गीत गाएका थिए । २०७१ साउन २९ गते ६५ वर्षको उमेरमा वज्राचार्यको निधन भएको थियो ।
पोखरेली युवा साँस्कृतिक परिवारका संस्थापक अध्यक्ष समेत रहेका जज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजन गर्न लागेको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए । सङ्गीतकार सुनील थापाको सङ्गीत संयोजन रहने उक्त साङ्गीतिक साँझमा गायक गायिकाहरू कर्ण दास, तारा थापा, बाबा राणा, रामभक्त जोजीजू, बिनोद बानीया, इतु जोजीजू, बिनित जोजीजू, फिरोज गोपाल वज्राचार्य लगायतको सुमधुर स्वरमा सरोज गोपालका गीतहरु सुन्न सकिने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।