सिलगढी, भारत / हिजो सेप्टेम्बर ८ तारिखका दिन सिलगडी नजिक रहेको सुकुनारकको हाइस्कुलमा भव्य रूपमा एउटा साहित्यिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका आकर्षणका केन्द्रविन्दु नरबहादुर दाहाल थिए। कार्यक्रम थियो, नरबहादुर दाहाललाई नागरिक अभिनन्दन, परदेशी पत्रिकाको नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्कको लोकार्पण, उनकै चौरासी जन्मोत्सव, दस नारी प्रतिभाको समवर्द्धनाजस्ता विविध कार्यक्रम ।
नरबहादुर दाहाल अब जिउँदा किंवदन्ती भइसकेका छन्। उमेरले उनी चौरासी नागिसकेका, नेपाल र भारतका साहित्य सम्बन्ध सेतू हुन् । चालिसको दशकदेखिका नेपाल‑भारतको राजनैतिक साहित्यक सामाजिक इतिहासको साक्षी हुन् र संस्मरणका अद्भुत नमुना हुन्। उनले चालीसको दशकदेखिको दार्जिलिङको राजनीति देख्दै, भोग्दै, जान्दै, हेलिँदै, सहभागी बन्दै आएका एक हस्ती हुन्। उनले सिक्किम, असम र नेपालको राजनीति पनि देख्दै, बुझ्दै र जान्दै आएका हुन्। उनी दार्जिलिङको गोर्खा लीग दलका अनन्य समर्थक, डम्बरसिंह गुरूङका अनन्य भक्त हुन्। दलको केन्द्रीय सदस्य थिए। दलको मुखपत्र गोर्खाका सम्पादक थिए। यस दलका सक्रिय कार्यकर्ता रही जातीय हितका काम गरेका थिए।
नरबहादुर दाहालले जीवनकालमा कालेबुङ, असम र अहिले सुकुना सिलगडीमा जीवन बिताउँदैछन्। यी तीनै ठाउँमा उनी चुप लागेर बसेनन्। आफू बसेको ठाउँलाई उज्यालो बनाएर गजधम्म भएर बसेका हुन्। बाल्यकाल र युवाकालमा कालेबुङका एक सक्रिय व्यक्तित्व, गोर्खा लीगका कार्यकर्ता, कोपरेटिभ सोसाइटीका म्यानेजर, सामाजिक कार्यकर्ता आदि धेरै भूमिकामा देखापरे । त्यसपछि उनी आफ्नो जीवन धान्ने क्रममा गौहाटीमा धेरै वर्ष नेपाली फिल्म वितरक भएर बिताए।
अहिले सिलगडीनजिक सुकुनामा भने स्वतन्त्र जीवन बिताउँदैछन्। उनले चार चार छोराछोरीलाई जन्माए, हुर्काए, योग्य बनाए।
पश्चिम बंगालको मेदिनीपुर जिल्लामा सलुवा भन्ने एउटा ठाउँ छ। त्यहाँ ब्रिटिसकालीन इस्टर्न फ्रन्टियर राइफल्स (EFR)भन्ने अर्धसैनिक बाहिनीको हेडक्वार्टर छ। यसमा तीन बटालीयन छन्। यसमा सत्तरदेखि अस्सी प्रतिशत नेपाली गोर्खालीहरूको उपस्थिति छ। यसमा कार्यरत धेरै गोर्खाली जवानहरू सेवानिवृत्त भएर त्यहीँ घडेरी किनेर घरजम गरी बसेका छन्। अब सलुवा बजारमा परिणत भइसकेको छ र त्यहाँ क्याम्पभित्र र क्याम्पबाहिरको बजारभरि नेपाली भाषा मात्र बोलेको सुनिन्छ। त्यहाँ इएफआरमा कार्यरत केही युवाहरू नेपाली भाषा साहित्यको सेवा गर्न निस्वार्थ रूपमा उत्रेका छन्। ती जोसिला युवाहरूले अगमसिंह गिरी संस्थान खोलेका छन्। त्यस संस्थानका माध्यमबाट साहित्यिक कार्यक्रम, माघे मेला, सांस्कृतिक कार्यक्रम, परदेशी पत्रिकाको प्रकाशन, अन्य पुस्तकको प्रकाशन, बेला बेला साहित्य गोष्ठी, लेखक सम्वर्द्धना आदि कार्य गर्दछ।
त्यहाँ विकास कार्की, सचिन खवास, प्रकाशराज राई (अहिले दिवङ्गत), विमल मुक्सु (अहिले दिवङ्गत), तिलक दुमी राई, तेजकुमार शर्मा, राजु नयपाल, बीरबल राई, लाक्पा तामाङ, दावा स्याङ्बो, महेन्द मुखिया, पदम गुरूङ, एगराज राई, प्रेम तामाङ, गरिराज री, निर्मल कोइराला आदि मिलेर यस संस्थानलाई अघि बढाएका छन्। अझ विकास कार्की जस्ता जोसिला र सक्रिय व्यक्तित्वका नेतृत्वमा र उनका सहयोगी साथीहरूले यस संस्थान र परदेशी पत्रिकाले काँधमा हालेर अघि बढेका छन्। परदेशी पत्रिकाले भने लेखकहरूलाई जिउँदैमा विशेषाङ्क निकालेर प्रतिभाको कदर गर्ने काम गरेका छ। हालसम्म यसका उन्नाइस अङ्क प्रकाशित भइसकेका छन् भने पाँचवटा अङ्क भने अभिनन्दन अङ्कका रूपमा प्रकाशत छ। यसले सर्वप्रथम एमएम गुरूङ, हाइमनदास राई किरात, महानन्द पौड्याल, गुप्त प्रधान र नरबहादुर दाहाल अभिनन्दन अङ्कका रूपमा प्रकाशित गरिसकेको छ। यस पालिको नरबहादुर दाहाल अभिनन्दन अङ्कका मूल सम्पादक विकास कार्कीका साथै अतिथि सम्पादक भएर डा राजकुमार छेत्री र राजा पुनियानी तथा सह सम्पादकका रूपमा सचिन खवास र दावा स्याङ्बो रहेका छन्। यो अंक ७१६ पृष्ठको ठूलो आयामको छ भने यसभित्र ७२ वटा मूल लेखहरू, छवटा लेखहरू दाहालको आत्मवृत्तान्त, एउटामा नरबहादुर दाहालका सबै लेखहरूको सूची, र अन्तमा दाहालका पत्रहरू, प्रशस्ति पत्रहरू, सम्वर्द्धना पत्रहरू, फोटाहरू आदि समावेश छन्। यस विशालकाय ग्रन्थलाई कृति समीक्षा समालोचना, व्यक्तित्व, संस्मरण, अन्तर्वार्ता, आत्मवृत्तान्त र व्यक्तिगत परिचय खण्डजस्ता स्तम्भ रहेका छन्।
यस कार्यक्रममा दाहालको ८४ औं जन्म (भोलिपल्ट ८४ वर्ष पूरा गरेर ८५ वर्ष पुगेको) उपलक्ष्यमा उनलाई खादामाला, फूलमालाले अभिषेक गरियो। उनलाई उपस्थित सबै मानिसहरूले लाइन लागेर फूलमाला लाउँदै सम्मान जनाए। त्यही कार्यक्रमका बीच अगमसिंह गिरी संस्थान सलुवा, सिलगडी देवकोटा सङ्घ, सुकुना साहित्यिक सांस्कृतिक प्रतिष्ठान आदि जस्ता संस्थाले पालैपिलो गरी अभ्यर्थना गरे। नेपाली साहित्य अध्ययन समिति कालबुङका अध्यक्ष ज्ञान सुतारले दाहालको कालेबुङ बस्ताका मिठो संस्मरण नाए, दाहालभन्दा वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तानले पनि दाहालका विभिन्न पक्षमाथि प्रकाश पारे। कञ्चनजंघा एफएमका सञ्चालक चन्द्र भण्डारीले यस कार्यक्रमलाई सम्बोधन गर्दा यताका समाज र साहित्यकारलाई उत्साह भरिदिए। यसै कार्यक्रमको अवसरमा समाजमा विभिन्न क्षेत्रमा सेवा गर्ने नारीहरूलाई पनि सम्मान जनाइयो।
यसमा शान्ति ठटाल (सङ्गीतकार). मातृका गजमेर (कवि), सविता थापा (कवि र संचारकर्मी), दीपा राई (चित्रकार र कवि), देविका मोक्तान (रेडियो सञ्चारकर्मी), मेनुका प्रधान (नाट्यकर्मी), रङ्गु सौरिया (सामाजिक सेवा), उर्मिला घिसिङ (साहित्य सेवा), शान्ति राई (समाज सेवा), सुभद्रा बमजन रहेका थिए।
कार्यक्रमलाई मेघनाथ छेत्री र श्रीमती उषाकिरण राईले बडो कुशलता र आकर्षक ढङ्गमा सञ्चालन गरेका थिए। दाहालबारे ज्ञान सुतार, कृष्णसिंह मोक्तान आदिले आ-आफ्ना सारगर्भित विचार व्यक्त गरे। कार्यक्रम उत्साह र पर्वसमान भएर दिनभर चल्यो। सुकुना, सिलगडी, दार्जिलिङ, खरसाङ, कालिम्पोङ, डुवर्स, नेपाल, सिक्किमतिरबाट आएका साहित्यकार र साहित्यप्रेमीहरूले हल खचाखच भरिएको थियो। डा. मोहन पी दाहाल, डा. कृष्णराज घतानी, डा. नरेशचन्द्र खाती, डा गोकुल सिन्हा, डा राजकुमार छेत्री आदिजस्ता हस्तीहरू सामेल थिए। त्यहाँ उपस्थित दर्शकहरू प्रायः सबै नै साहित्यकार थिए। यसरी एउटा प्रतिभालाई जीवितावस्थामा नै यसरी सम्मान र नागरिक अभिनन्दन गर्नु वीरपूजाको एउटा ठूलो अङ्ग हो, लेखकको अहोभाग्य हो, अन्य लेखका निम्ति प्रेरणा हो, साहित्यप्रेमीका निम्ति उत्साह हो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।