नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रमा कार्यरत युवा संचारकर्मी नवीन अभिलाषीको एकल कविता वाचन कार्यक्रम गरिएको छ ।
अभिलाषीले शून्यको सुरुवात, ‘बा’को पुरानो चप्पल, आमा, श्रीपेच, नयाँ शासक, घडीको एउटा सुई भएर, बक्यौता हिसाब, अन्तिम साँझ र रहस्यहरु (शीर्षक) का १० वटा कविता गुञ्जिएका हुन् ।
आयोजक हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले सःशुल्क कवि अभिलाषीको रचना सुन्ने व्यवस्था मिलाएको हो ।
अभिलाषीले आफ्ना कविताहरू सुनाएर उपस्थित अतिथि एवं दर्शकलाई मनोरञ्जन प्रदान गरे । उनले आमा तथा बुवालाई सम्झिदै लेखिएको चप्पलसम्बन्धी कविता वाचन गर्दा कार्यक्रममा उपस्थित दर्शकहरूलाई भावुक बनाए ।
टिकटमा कविता वाचन कार्यक्रमले अब साहित्यिक रचना बिस्तारै व्यावसायिक हुँदै गएको धारणा व्यक्त गर्दै अध्यक्ष अन्जानले प्रतिष्ठानको भावि योजनाका रूपमा मिनी थिएटर हल बनाउने सपनालाई पूरा गर्न आफूहरू स्थानीय, प्रदेश तथा संघ सरकारसँग नियमित सम्पर्कमा रहेको पनि खुलाए ।
प्रतिष्ठानका रचना वाचन विभागका संयोजक कवि हेमप्रकाश मंजीलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लेखक तथा विश्लेषक नरेन्द्रजंग पिटर थिए । उनले कवि अभिलाषीलाई जीवन र जगतका कविता लेख्ने कविको रूपमा चित्रण गरेका थिए । वरिष्ठ पत्रकार पिटरले भर्खरै बजारमा आएको कविता संग्रह मौलाको राँगोमा समेटिएका कवितामाथि टिप्पणी गर्दै पिटरले अभिलाषीको संग्रहले नेपाली कवितालाई न्याय दिएको बताए ।
जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, नेपालगन्ज मेडिकल कलेजका निर्देशक प्राध्यापक डाक्टर रेशम बहादुर राना, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्ल, साहित्यकारहरु सागर गैरे, महानन्द ढकाल, पुष्कर रिजाल, सुमित्रा न्यौपाने, डा. देवेन्द्र आचार्य, भीम बहादुर शाही, हिरालाल शर्मा चिन्तक, लगायत सय भन्दा बढी सःशुल्क कार्यक्रममा रचना सुन्न सहभागी भएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।