काठमाडौं / नेपाल प्रध्यापक संघले त्रिभुवन विश्वविद्यालय जस्तो प्राज्ञिक स्थलमा अप्राज्ञिक एवम् अमर्यादित गतिविधि मान्य नहुने बताएको छ ।

संघका तर्फबाट अध्यक्ष प्रा. डा. रमेशकुमार जोशी र महासचिव नरेन्द्रप्रसाद सिवाकोटीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालय नेपालमा मात्रै नभएर एसियामै शैक्षिक उन्नयन र प्राज्ञिक सभ्यता बोकेको गौरवपूर्ण संस्था भएको र यसको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको जनाउँदै संघले अमार्यदित गतिविधि गरिनु कुनै पनि दृष्टिले उचित मान्न नसकिने जनाएको हो ।

‘विगत केही समयदेखि त्रिविमा विभिन्न प्रकारका माग, तालाबन्द, भौतिक दबाब, गत्यावरोध जस्ता क्रियाकलापहरु भइरहेका भन्दै विश्वविद्यालय सम्बद्ध कुनै पनि निकायका व्यक्ति तथा समूहले आफ्नो माग राख्ने, विश्वविद्यालयको कामप्रति प्रश्न गर्ने र सही बाटोमा लान सचेत गराउने कामका क्रिया, मर्यादा, शक्ति र सीमाहरु हुन्छन्’, विज्ञप्तिमा भनिएको, ‘प्राज्ञिक बहसको स्थलमा अप्राज्ञिक एवम् अमर्यादित गतिबिधि गरिनु कुनै पनि दृष्टिले उचित मान्न सकिन्न ।’

विश्वविद्यालय जस्तो गरिमामय संस्थामा यस्ता अप्रिय, अस्वाभाविक रुपमा आक्रमण भइरहनु, अस्थिरता निम्त्याइनु, यहाँ अध्ययन गर्ने विद्यार्थीमा दिन प्रतिदिन नैराश्य जागृत गराइनु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु हरेक आधारमा गलत देखिने संघको ठहर छ ।

यस्ता अशोभनीय कार्यको विरोध गरी यसलाई छिटोभन्दा छिटो अन्त्य गरी प्राज्ञिक संवादको अभ्यास र त्यसबाट समाधान निकाल्न जरुरी रहेको संघले भनेको छ ।

कुनै पनि समस्याको समाधान उत्तेजनामा आएर, गैरजिम्मेवार भएर हैन, विधि, पद्धति, शान्तिपूर्ण तरिका, कानुनी मार्ग अवलम्बन गर्दै सरोकारवालाहरुको संयमित बुझाइमा निर्भर हुने र उक्त विषयमा प्रतिनिधिसभामा समेत ध्यानाकर्षण भएको स्मरण गराउँदै संघले हाल देखिएका अनेक जटिलतालाई चिर्न नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संघ/संगठनहरु र आम नागरिक समाज सबै पक्षले गम्भीर बन्न जरुरी रहेकाले यसमा संवेदनशील हुनुपर्ने आवश्यकतालाई औंल्याएको छ ।

संघले विज्ञप्तिमार्फत त्रिभुवन विश्वविद्यालयको मान, मर्यादालाई अझै उच्चो पार्ने शैक्षिक, प्राज्ञिक, बौद्धिक वातावरण निर्माण गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।