
नेपाली दिदी बहिनीहरूको महान् पर्व तीजको सन्दर्भमा सिस्नुपानी नेपालले नेपाली महिलाहरूको गरिमा गायन गर्ने उद्देश्यले “छोरी” कार्यक्रम सम्पन्न गरेको छ ।
भदौ १० गते राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठानको ठूलो प्रेक्षालयमा सञ्चालन गरेको उक्त कार्यक्रममा नेपालका धेरै क्षेत्रका छोरी (महिला) को उपस्थिति रहेको थियो ।

मनोज गजुरेल
केही व्यङ्ग्य र बढी करुणाका प्रस्तुति रहेको उक्त कार्यक्रममा छोरीहरूका साङ्गीतिक प्रस्तुतिदेखि लिएर कविता र गायन पनि रहेको थियो । छोरा र छोरी समाजका परिपुरक हुन् भन्ने भाव झल्कने कार्यक्रममा केही पुरुष प्रस्तोता पनि रहेका थिए । कार्यक्रममा ठूलो प्रेक्ष्यालयमा छोरीहरूको मात्र उपस्थिति रहेको थियो भने मन्त्री, सांसद, उच्च प्रशासक, लेखक, पत्रकार, उद्योगी, व्यापारीलगायत सबै पुरुषहरूलाई माथि बाल्कोनीमा राखिएको थियो ।
कार्यक्रममा १२ जना छोरीले शास्त्रीय सङ्गीत, १८ जना छोरीले नौमती बाजा र ३४ जना छोरीले बाँसुरी वादन गरेका थिए । कवि कुन्ता शर्मा, मोमिला जोशी, भावना शर्माको कविता अनि अञ्जु पन्तको गीत रहेको थियो । पुरुष प्रस्तोतामा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठको छोरीसम्बन्धी प्रस्तुतिले दर्शकलाई हँसाएको थियो भने कलाकार मनोज गजुरेलले आफ्नी आमाको अभिनय गरेर दर्शकलाई भावुक बनाएका थिए ।
कवि अर्जुन पराजुली र लक्ष्मण गाम्नागेका व्यङ्ग्यात्मक कविताको प्रस्तुति रहेको समारोहमा कार्यक्रमका संयोजक टङ्क आचार्यले भावुक लेख प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सुगारिका केसी र सरोज घिमिरेले गरेका थिए ।
कार्यक्रममा पूर्व सभामुख, मन्त्री, सांसद, न्यायाधीश, कलाकार, पूर्व प्रधानमन्त्री पत्नी, लेखक, उच्च प्रशासक, पत्रकार, विद्यार्थी नेता, बैङ्क लगायत विभिन्न संस्थान र कम्पनीका प्रमुख तथा कर्मचारीहरू, सुरक्षा निकायका अधिकारी लगायत सर्वसाधारणको बाक्लो उपस्थितिले खचाखच रहेको प्रेक्षालय छोरीका दुःख, सुख र वीरता झल्कने तस्वीरले सुन्दर देखिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

