काठमाडौं / तीन दशकदेखि मुटुको उपचारमा खटिरहँदा डा. भगवान कोइरालाले नेपालमा धेरै त्यस्ता बालबालिका देखे, जसले आधारभूत स्वास्थ्य सेवा नपाएका कारण ज्यान गुमाउनुप-यो । नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन जनाले आफ्नो पाँचौं जन्मदिन देख्न नपाउने दुःखद तथ्याङ्कले पनि कोइरालालाई सधैं दुखाइरह्यो । त्यसपछि डा. कोइरालाको मनमा जुन अभाव जुन खट्कियो, त्यसैको परिपूर्तिका लागि उनले विशिष्टीकृत बाल अस्पतालको खाका कोरे ।

हाल काठमाडौंमा त्यस्तो विशिष्टीकृत हस्पिटल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) का रूपमा निर्माणाधीन छ । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । यस्ता हस्पिटल सातै प्रदेशमा विस्तार गर्ने कोइरालाको लक्ष्य छ ।

कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने भएको छ । डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको हो ।

यही भदौ अन्तिम साता काठमाडौंमा उक्त विशेष संस्करणको लोकार्पण हुँदैछ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ, जसको अङ्कित मूल्य २५,०००।– (पच्चीस हजार रुपैयाँ) रहेको छ । विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन् । यद्यपि विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अङ्कित मूल्य ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुनेछ । नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व किओचलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् ।

विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सिधै हस्पिटललाई हस्तान्तरण गरिनेछ ।

किताबको पृष्ठभूमि

पित्तनलीको क्यान्सरका कारण न्युरो सर्जन डा. उपेन्द्र देवकोटा बिते । पैसा, प्रज्ञा र शक्ति के थिएन र उनीसँग ? ठीक हुन्थ्यो भने जहाँ गएर पनि उपचार गराउन सक्ने हैसियत राख्थे । दुर्भाग्य, हरेक हिसाबले सबल हुँदाहुँदै पनि क्यान्सरले कमजोर तुल्यायो उनलाई । लम्ब्याउन सकिएन उनको आयु ।

हृदय नजिकको साथी अनि कुशल प्राज्ञिक व्यक्तिको मृत्युले निकै घोचेको थियो डा. भगवान कोइरालालाई । प्रश्न कसतर्फ सोझ्याउने ? उनी प्रस्ट थिएनन् । त्यसैले आफैंसँग सोधिरहे— उपचार सम्भव भएको रोगकै कारण ज्यान गुमाउन बाध्यहरूको स्थिति झन् कस्तो होला ?

डा. कोइरालाले सबैभन्दा नजिकबाट देखे मुटुका बिरामीहरूलाई । तीन दशक लामो चिकित्सकीय यात्रामा उनले हरेक खालका उतारचढाव देखे । नीतिगत, व्यवस्थापकीय अनि व्यावहारिक समस्या भोगे । उनलाई फतक्कै गलाएको चाहिँ कलिला बालबालिकाको मृत्युले हो, जसको मुटुलाई चाहेर पनि ढुकढुकी दिन सकेनन् ।

जन्मजात मुटुको समस्या अजङ्गको पहाड जस्तो हो । जब उनीहरू निर्दोष आँखामा ठीक हुने आशा बोकेर आउँछन्, तब आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गर्छन् भगवान ।

‘हजारौं बालबालिकाको मुटुको शल्यक्रिया गरे पनि हरेक पटक नयाँ चुनौती थपिए जस्तो हुन्छ । किनकि उनीहरूको मुटुको सानो प्वाल समेत साह्रै जटिल हुन्छ,’ डा. कोइराला प्रस्ट्याउँछन्, ‘जति जटिल समस्या भए पनि बच्चाको हकमा हरेक प्रयासले महत्त्वपूर्ण अर्थ राख्छ ।’

१९९० को दशकको अन्त्यतिर क्यानडाको टोरन्टोस्थित विश्वकै उत्कृष्ट बाल अस्पतालमध्ये एक— हस्पिटल फर सिक चिल्ड्रेनमा पाएको तालिमको अवसरले उनलाई साना नानीहरूसँग नजिक बनायो । बालबालिकाहरूको स्वास्थ्यप्रति आफ्नो चासोकै कारण उनी अमेरिकाको तालिम अवधि छोट्याएर त्यता हानिएका थिए ।

न जीवनबारे बुझाइ, न त मृत्युको भय । शरीरसँगै रोगको बोझ बोकेर हिँडिरहेका ती अबोधहरूको पीडालाई उनले आफ्नो सङ्घर्षको पहाड माने, जसलाई छिचोल्न उनले आफ्ना औंलाहरूलाई सम्हालेर चलाउन सिके ।

क्यानडामा रहँदा झाँगिएको बालबालिकासँगको निकटता कहाँ त्यसै पातलिन्थ्यो ? त्यहाँ अभ्यास गरेको संवेदनशीलता फर्केर नेपालमा काम गर्दा प्रयोग गरे । साना नानीहरूको प्वाल परेको, बाङ्गोटिङ्गो भएको वा तलमाथि सरेको मुटुलाई उस्तै सम्हालिएर ठीक बनाउन थाले ।

‘बालबालिकाको निश्चलता र उनीहरूले नबोली जताउने हार्दिकताले मलाई सधैं विभोर बनायो । हरेक पटक कुनै बिरामी बच्चा ठीक भएर घर फर्किंदा मलाई लाग्थ्यो— यो उमेरका हरेकले जीवन भोग्न पाउनुपर्छ,’ डा. कोइराला सुनाउँछन् ।

इच्छाशक्ति र मिहिनेतका बाबजुद उनलाई बोध थियो— सीमितताबीच प्रयास भइरहेको छ । नेपालको स्वास्थ्य प्रणाली बालबालिकामैत्री नभएको उनी ठान्छन् । वयस्क केन्द्रित अस्पतालहरूमा बालबालिकाको उपचार गर्नु बाध्यता हो । अस्पतालको भौतिक संरचनादेखि जनशक्ति बालबालिकाका लागि उपयुक्त नहुन सक्थ्यो । विदेशमा सरह बाल मनोविज्ञान र उनीहरूको भावनात्मक पाटोमा ध्यानमा राख्नु त अझ परको कुरा ।

नेपालमा सरकारी बाल अस्पताल एउटा मात्र छ । सुगमदेखि दुर्गमका अभिभावक छटपटाइरहेका नानी काखमा च्यापेर वा भुइँमा छाडेर टिकटको लाममा बस्नुपर्ने बाध्यता तीतो यथार्थ हो । एउटै शैयामा पाँच जना बालबालिका राखेर उपचार गरिरहेको विषय आज पनि समाचारको शीर्षक बन्छ । निकै सामान्य शल्यक्रियाका लागि एउटा अभिभावकले आफ्नो सन्तानको ज्यान जोखिममा राखेर महिनौं पालो पर्खनुपर्ने बाध्यता आज पनि यथावत् छ ।

निजी अस्पताल विकल्प हुन् । तर छोराछोरी बाँचेको देख्न चाहने सबै आमाबुबासँग उपचारका लागि पैसा हुँदैन । एक पुरिया जीवनजल अभावका कारण सुदूरको कुनै गाउँको बच्चा मर्छ । किड्नी बिग्रिएको सन्तानलाई काँधमा बोकेर सदरमुकाम झर्ने बाबुले थकाइ मार्न पाउँदैनन् । आमासँग आशा मात्र हुन्छ ।

‘ती पैसा र पहुँच नहुनेहरू स्वास्थ्य सेवाबाट वञ्चित छन् । बालरोग उपचारको क्षेत्रमा केही काम गर्न सके उनीहरूका लागि योगदान हुन्थ्यो भन्ने सधैं लाग्यो,’ भगवानले एउटा लक्ष्य कसरी बीजारोपण भयो सुनाए ।

तर बालरोगको अर्थ मुटुको समस्या वा शल्यक्रिया मात्र पक्कै होइन । शरीरको एउटा मात्र अङ्ग ठीक पारेर उनीहरू स्वस्थ हुँदैनन् भन्ने पाँच हजारभन्दा बढी बालबालिकाहरूको मुटुको शल्यक्रिया गरेका कोइरालालाई थाहा छ ।

उमेर घर्किंदै जाँदा डा. कोइरालाको अनुभव निखारिँदै गयो । अनुभवसँगै दक्षता र आत्मविश्वास बढ्दो थियो । आफूले मुटु निको पारेर पठाएको फुच्चे केटो इन्जिनियर बनेर भेट्न आउन थाल्यो । पर कतैबाट कसैले फोन गरेर भन्यो, ‘म तपाईंले ठीक पारेको बिरामी । गाउँमा मोबाइलको नेटवर्क टिप्न थालेको छ । तपाईंलाई सम्झिएर फोन गरेको ।’

यो सबै भइरहँदा उनलाई सधैं लागिरह्यो— अब समय धेरै छैन ।

सधैं सरकारी स्वास्थ्य प्रणाली बलियो बनाउन लागिपरेका उनी उमेरको पाबन्दीमा छन् । सेवानिवृत्त भएपछि पनि विज्ञका रूपमा आफ्नो वैचारिक योगदान पु-याउने ठाउँ रहला । तर आफू जोडिएर परिवर्तनका लागि हस्तक्षेप गर्न पाउने छैनन् । नेपालमा ओपन हार्ट सर्जरी सुरुवातको श्रेयदेखि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई अब्बल केन्द्रका रूपमा स्थापित गर्ने श्रेय पाएका डा. कोइरालालाई थप केही गर्नु छ । त्यो पनि बाल रोगकै क्षेत्रमा ।

के गर्ने भन्ने प्रश्नले लखेट्दै गर्दा उनले बहुविशेषज्ञ सेवासहितको स्तरीय बाल अस्पतालको कल्पना गर्न थाले । त्यस कल्पित खाकामा समतामूलक सेवाको अवधारणा जोडिएरै आएको थियो ।

‘चिकित्सकका रूपमा मैले भोगेको कठिनाइ, भोगाइ र पीडाबाट उब्जिएको योजना थियो त्यो, जुन पूरा हुन ठूलो स्रोत र साधन आवश्यक थियो । जीवनभर सरकारी अस्पतालको तलबमा निर्भर मैले त्यो कल्पनालाई मूर्त रूप दिन सक्छु भन्ने ठानेको थिइनँ,’ डा. कोइराला सुनाउँछन् ।

अभाव नछिचोलेसम्म भगवान कोइरालाको एउटा योजना सपनामै सीमित रहने निश्चित थियो ।

समाउन सकिने आशाको त्यान्द्रो तब देखियो, जब भूकम्पपछाडि सहयोगार्थ नेपाल भ्रमणमा आएकी हल्यान्डकी एक समाजसेवीले उनलाई सोधिन्, ‘नाम, इज्जत, प्रतिष्ठा सबै कमाइसकेका छौ । अबको तिम्रो ‘ड्रिम प्रोजेक्ट’ के छ त ?’

सपनाकै कुरा त सुनाउनु थियो । कोइरालाले धक मानेनन् । दिमागमा खाका बनिसकेको त्यो ठूलो अस्पतालबारे सुनाए, जसको छातामुनि हरेक किसिमका रोगविरुद्ध लडिरहेका बालबालिका उपचाररत हुन्छन् । हरेक बालरोग विज्ञ सेवारत हुन्छन् । पैसा तिर्न सक्नेहरूले त्यहाँ केही रकम तिरेरै उपचार गर्लान् । पैसा नहुनेहरूका लागि कुनै बाध्यकारी नियम हुने छैन ।

हल्यान्डकी ती समाजसेवी प्रभावित भइन् र भगवानको योजनाका कलिला पखेटामा प्वाँख भरिदिइन् । भनिन्, ‘अस्पताल बनाउन केही स्रोत सङ्कलन गर्न म सहयोग गर्न सक्छु । तिमी आँट गर ।’

उड्ने प्रयास थाल्नु डा. कोइरालाको पाटोको कुरा । समय लगाएनन्, विचार र उद्देश्य मिल्दा केही साथीहरूसँग मिलेर काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)नामक गैरनाफामूलक संस्था दर्ता गरे । हल्यान्डमा व्यक्ति होइन, संस्थाका प्रतिनिधि बनेर पुगे । केही आश्वासन र धेरै प्रेरणा बोकेर फर्किए ।
काठमाडौंमा विशिष्टीकृत अस्पताल त बनाउने तर त्यसले आम मानिसको समस्या समाधान होला त ?

आत्मसमीक्षापछि उब्जिएको यस्तो प्रश्नबारे निकै घोत्लिएको डा. कोइराला सुनाउँछन् ।

‘राजधानीमा आफूले चाहे जस्तै अस्पताल बनाउनुले मेरो रहर त पूरा गर्थ्यो होला । तर साँच्चै केही गर्ने हो भने प्रभाव पर्ने गरी गर्नुपर्थ्यो,’ उनले भने ।

प्रभावकारिताको मापन राजधानी वा ठूला सहरबाहेक अन्यत्र रहेका बालबालिकाको सहज र सबल उपचार पहुँचले निर्धारण गर्थ्यो । त्यसैले काठमाडौंको विशिष्टीकृत एक अस्पतालबाहेक अन्य छ ओटा प्रदेशमा सामान्य बाल अस्पतालको अवधारणा अघि सारे ।

चन्दा उठाएर बाल अस्पतालको सञ्जाल स्थापना गर्ने उद्देश्य राख्नुलाई धेरैले बहुलट्ठीपनको संज्ञा नदिएका पनि होइनन् । यद्यपि उनको कल्पना एउटा समूह र संस्थाको लक्ष्य बनिसकेको थियो । उनीहरूले आर्थिक सहायताको सम्भावित ढोकाहरू ढकढकाउन थालिसकेका थिए ।

त्यसै क्रममा कोरोना भाइरसको महामारी आइदियो । विश्व ठप्प बन्यो । स्थगित रह्यो, अस्पतालको काम पनि । त्यति बेला जोडतोडका साथ केही चलिरहेको थियो भने डा. कोइरालाको आत्मकथा ‘हृदय’माथिको कलम ।

किताब तयारीका क्रममा डा. कोइरालाले ठाने— आत्मकथाबाट प्राप्त हुने रोयल्टीको आधा अंश अस्पतालकै निम्ति खर्चन्छु ।

प्रतिष्ठित एवम् सम्मानित व्यक्तित्वको पुस्तक कम्तीमा २० हजार प्रति बिक्री हुने फाइनप्रिन्टको आकलन हो । जसअनुरूप पुस्तकको मूल्य पाँच सय राख्दा करिब २० लाख रुपैयाँ डा. कोइरालाले प्राप्त गर्लान् । तर एक अर्बभन्दा बढी खर्च अनुमानित अस्पताल निर्माण प्रक्रियामा उनको हातमा पर्ने रकमको केही अंशले कति नै बलियो खटको काम गर्थ्यो र ?

उनीसँगको नियमित छलफलका क्रममा वर्तमानदेखि भविष्यसम्मै हजारौँ बालबालिकाले लाभ प्राप्त गर्ने त्यस अस्पतालका लागि उनको पुस्तक र प्रकाशकका रूपमा फाइनप्रिन्ट कसरी सारथि बन्न सक्छ ? विमर्श चल्यो । निष्कर्ष रह्यो— पुस्तकको विशेष संस्करणमार्फत जोडिने ।

सीमित प्रति छापिने त्यस संस्करणको सम्पूर्ण रकम अस्पतालका हुने ठहर भयो ।

‘सबैभन्दा कठिन चाहिँ— कति प्रति छाप्ने र कति मूल्य राख्ने भन्ने विषयमा भयो । किनकि लेखक, उनको योजना र प्रकाशकमाथि आम पाठकको विश्वाससँग जोडिएको विषय थियो,’ फाइनप्रिन्टका प्रमुख कार्यकारी निर्देशक नीरज भारी भन्छन् ।

अन्ततः अस्पतालको एउटा विभाग बन्न लाग्ने खर्चबारे बुझ्दा कम्तीमा पाँच करोडको आकलन गरियो । सोहीअनुरूप एउटा विभाग निर्माणका लागि पुग्दो हिसाब बराबर २५ सय प्रति पुस्तक २५ हजार रुपैयाँमा बेच्ने लक्ष्य तय भयो ।

‘महत्त्वाकाङ्क्षी सुनिन सक्छ । तर हुर्की नसकेको बच्चालाई जीवन दिने योजनमा मिल्नु हाम्रो जिम्मेवारी थियो । त्यो जिम्मेवारी वहन गर्न चाहने र सक्नेहरू जोडिन्छन् भन्ने भरोसाका आधारमा हामीले यो निर्णय ग¥यौँ,’ भारीले भने । तय गरिएको सङ्ख््याको विशेष संस्करण एक पटक मात्र छापिने छ । क्रम सङ्ख््या अङ्कित ती पुस्तकलाई लेखक स्वयम्ले प्रमाणीकरण गर्नेछन् । डा. कोइराला स्वयम्ले खरिदकर्ताको नाम र आफ्नो हस्ताक्षर उल्लेख गर्नेछन् ।

पुस्तक प्रकाशनदेखि ढुवानीसम्मको कुनै पनि खर्च पाठकले तिर्ने रकमबाट नकटाइने प्रकाशक फाइनप्रिन्टले जनाएको छ । ‘निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी हुनेछ । उहाँहरू हरेकले कम्तीमा एउटा इँटाका लागि योगदान पु¥याउनुहुनेछ । प्रकाशकका रूपमा हाम्रा लागि यो गौरवको विषय हो,’ नीरज भारी भन्छन् ।

यसरी देशको स्वास्थ्य प्रणाली र सेवासँग सम्बन्धित योजनामा पुस्तक र पाठक जोडिनुलाई सुखद मान्छन् भगवान कोइराला । ‘आखिर देशको भविष्य स्वास्थ्य र शिक्षामा गरिने लगानीमा निहित छ । हामीले पुस्तकमार्फत यी दुवै क्षेत्रमा धेरथोर लगानीको जमर्को गरेका हौँ,’ कोइरालाले भने ।

‘हृदय’ले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको चर्चा गर्छ । यस संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाहरूबारे प्रस्ट्याउने फाइनप्रिन्टले जनाएको छ ।