विगत ५ दशकदेखि नेपाली साहित्यको फाँटमा विशेषगरी गजल लेखन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमीलाई मातृशोक परेको छ ।
गजलकार डा. परिश्रमीकी माता तारादेवी न्यौपानेको ९० वर्षको उमेरमा शुक्रबार साँझ ६:३० बजे निधन भएको छ । केही दिनअघि स्वास्थ्यमा अचानक समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि भर्ना गरिएको थियो ।
अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा उहाँको निधन भएको गजलकार डा. परिश्रमीले जानकारी गराउनु भयो । गजलकार डा. परिश्रमी तारादेवीका जेठो सन्तानका साथै एक्लो छोरो हुनुहुन्छ । त्यसैगरी उहाँका अन्य दुई छोरी हुनुहुन्छ ।
तारादेवी आफ्ना छोरा गजलकार डा. परिश्रमीसँगै नवलपरासीको बर्दघाट ४ मा रहँदै आउनु भएको थियो । मृतक तारादेवीको वि.सं. १९९० साल भाद्र ११ गते शनिबार स्याङ्जाको तत्कालीन बिर्घा कुलुममा जन्म भएको थियो । गजलकार डा. परिश्रमीका पिता रुक्माङ्गत न्यौपानेको यसअघि नै निधन भइसकेको छ ।
गजलकार डा. परिश्रमीले हालसम्म १९ वटा साहित्यिक र ७ वटा गैरसाहित्यिक गरी २६ ओटा पुस्तक प्रकाशन गरेर नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिइसक्नुभएको छ ।
गजलकार डा. परिश्रमी साहित्यपोस्टको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रम साहित्यवार्ता स्रष्टा र सिर्जनाको पाहुनासमेत रहिसक्नु भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।