
२०७८ सालको मदन पुरस्कार ‘अग्नि’ किताबले पाउने भएको छ ।
शनिबार मदन पुरस्कार गुठीले कवि, गीतकार तथा रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साललाई महाकाव्य ‘अग्नि’का लागि मदन पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै, जगदम्बाश्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरिएको छ ।
समकालीन चेतनाको जगमा पूर्वीय दर्शन र मिथकलाई हेर्ने , देशको बहुलता र विविधतालाई नजिकबाट अनुभूत गर्ने र सीमान्तकृत पात्र , प्रवृत्ति र तिनको पहिचानलाई मूल प्रवाहमा ल्याउने सन्दर्भ डा. लम्सालका लेखनका खास विशेषता मानिन्छन् ।
धादिङको ज्यामरुङमा जन्मिएका कवि लम्सालका हालसम्म तीनवटा महाकाव्य, तीनवटा नै कवितासङ्ग्रह र दुईवटा गीतसङ्ग्रह गरी ८ कृति प्रकाशित छन् । त्यसमा एउटा बाल-गीतसङ्ग्रहसमेत रहेको छ । बिबिसी नेपाली सेवाको कला संवाददाताको रुपमा रहेर ८ वर्ष काम गर्नुभएका डा. लम्साल विगत करिब तीन दशकदेखि रेडियो नेपालमा सेवारत् छन् ।
केही समयअघि मात्र डा. लम्साललाई ‘अग्नि’का लागि ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार’ प्रदान गरिएको थियो ।
मदन पुरस्कारका लागि अग्निसँगै ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत- नेपाल शब्दकोश, सती: इतिहास र मीमांसा र हिति प्रणाली छनोट भएका थिए।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

मदन पुरस्कार विजेता शृङ्खला २: लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह
