प्रगतिशील गायक जेबी टुहुरेको प्रथम वार्षिकीको अवसर पारेर टुहुरेद्वारा स्वरबद्ध चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले..’का रचनाकार लब प्रधानलाई सम्मान गरिएको छ ।

जेबी टुहुरे फाउन्डेसनले शुक्रबार धरानको भानुचोकमा आयोजना गरेको जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मानमा उक्त गीतको रचनाकार प्रधानलाई सम्मान गरिएको हो । प्रधानलाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, प्रदेशसभामुख प्रदीपकुमार भण्डारी लगायतले सम्मान गर्नुभएको थियो । उहाँलाई टोपी, दोसल्ला र नगद १ लाखसहित सम्मानपत्र प्रदान गरिएको थियो । फाउन्डेसनले हरेक वर्ष एक जना स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ ।

इलाममा जन्मिनुभएका स्रष्टा प्रधान पछि विराटनगर बसाइँ सर्नु भएको थियो । १६ वर्षको उमेरदेखि नै मार्क्सवादतर्फ आकर्षित भएर सामाजिक न्याय र परिवर्तनको पक्षमा लाग्नु भएका गीतकार प्रधान पटक पटक जेलसमेत पर्नु भएको थियो । जेबी टुहुरेसँग प्रधानको भेट भएपछि बसाइँ हिँड्नेको ताँतीले बोलको कालजयी गीत तयार भएको थियो । दुवैबीच प्रगाढ मित्रता थियो ।

गत वर्ष निधन भएका गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को जन्म धरान ३ मा भएको थियो । उहाँले नयाँ लहर समूह, संकल्प गीति कार्यक्रम समूह हुँदै आफ्नो गीति यात्रा प्रारम्भ गर्नु भएको थियो । उहाँले २०३३ सालमा पहिलो पटक धरान १० स्थित भूपू सैनिक भवनमा आमा दिदी बैनी हो..बोलको चर्चित र कालजयी गीत गाउनु भएको थियो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले स्वर्गीय गायक टुहुरेको स्मरण गर्दै उहाँ संगीतको धरोहर भएको बताउनु भयो । आफूले आन्दोलनको क्रममा गुन्गुनाउँदै हिँड्ने गीतको गीतकार (प्रधान)लाई सम्मान गर्न पाउँदा हर्ष र गर्व महसुस भएको बताउनुभयो । ‘आमा दिदी बहिनी हो, कति बस्छौं दासी भई..अजर अमर गीतका गायक जेबी टुहुरेलाई संविधानसभा सदस्य बनाएर ठीक काम गरेछु भन्ने लागेको छ,’ पूर्वप्रम दाहालले भन्नुभयो, ‘जनवादी, प्रगतिशील साहित्य र संगीतको क्षेत्रमा उहाँको योगदानलाई मैले गरेको सम्मानको अर्थ र महत्त्व अझ ठूलो भएको अनुभूत गरेको छु ।’