काठमाडौँ, भदौ ७ / नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा राष्ट्रिय विभूति मानवतावादी दार्शनिक जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्मजयन्तीका अवसरमा ‘जयपृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले संयुक्त रूपमा दीप प्रज्वलन गरी गोष्ठीको समुद्घाटन गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान उपकुलपति डा. जगमान गुरुङले गोष्ठीलाई सम्बोधन गर्दै भन्नुभयो– “नेपालमा १०४ वर्षसम्म राणाहरूले शासन गरे । सबैभन्दा कडा शासन जङ्गबहादुर र चन्द्रशमशेरको थियो । गाउँघरतिर मानिसहरूरुले राजाका बाउ चन्द्र आए पनि डराउँदैन भन्थे । राजालाई बाउ भन्थे । त्यति कडा शासन थियो । चन्द्रशमशेरले बझाङ्गी होनहार राजालाई रोजे । राणहरूलाई पश्चिमेली ठकुरीहरूले विद्रोह गर्छन् कि भन्ने डर थियो । उनीहरूलाई छोरी दिएर तह लगाउने राणाहरूले ठाने । होनहार युवालाई छोरी दिएपछि पश्चिमका ठकुरीलाई कज्याउन सकिन्छ र अङ्ग्रेजी भाषा जान्ने भएकाले अङ्ग्रेजसँग पनि राम्रो सम्बन्ध कायम गर्न सकिन्छ भन्ने रणनीति थियो । जयपृथ्वीबहादुर सिंहले ससुरासँग मिलेर सत्ता सुखभोग गरेको भए आज उहाँलाई सम्झिने अवस्था रहँदैन थियो होला । जनताको हितमा लाग्नुभयो । नेपाल वा भारतमात्र होइन संसारले उहाँलाई चिन्छ । विश्वमा नेपाललाई चिनाउने जयपृथ्वीबहादुर सिंह हुनुहुन्छ । यस्ता आदर्शवादी नेता जन्मिएको ठाउँ हो नेपाल । नेपालीले जयपृथ्वीबहादुर सिंह जस्तो आदर्श र चरित्रको विकास गर्न सक्नुपर्छ । नेपालीले आफूलाई विश्वमा चिनाउन सक्नुपर्छ । जयपृथ्वीबहादुर सिंहको चरित्रलाई हामीले आफूमा केही अंशसम्म भए पनि विकास गर्न सक्नुपर्छ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव, दर्शनशास्त्र विभागका प्रमुख एवम् कार्यक्रमका अध्यक्ष प्रा. जगत्प्रसाद उपाध्यायले जयपृथ्वीबहादुर सिंहले तत्कालीन प्रधानमन्त्री देवशमशेरलाई आधुनिक नेपालको विकासका लागि मार्गदर्शन गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेर उहाँको सम्मान गरेको छ । उहाँले त्यो बेला आफ्ना हजुरबुबासँग, आफ्ना ससुरासँग र निरङ्कुशताका विरुद्धमा सङ्घर्ष गर्नुभयो । विश्वदर्शन, राजनीति, मानव अधिकारका मञ्चमा जुन सिद्धान्त स्थापित गर्न सक्नुभयो त्यो अत्यन्त अद्भूत र विलक्षणयुक्त योगदान हो । उहाँको दाँजोमा अझैसम्म कुनै नेपाली जन्मिएको छैन । त्यस बखतमा उहाँले गरेका कार्य र योगदान साँच्चिकै विशिष्ट थिए ।”

उहाँले भन्नुभयो– “धर्म भनेको विवेक हो । जसले काम गर्न सक्छ त्यो नै धर्म हो । के ठिक के वेठिक छुट्याउन सक्नु नै धर्म हो । त्यो विवेक प्रयोग गर्न सकेको अवस्था नै मानवतावाद हो । मानिसको प्रकृति, आदर्श र प्रतिष्ठामा विश्वास गर्ने अथवा मानिसले मानिसप्रति गर्ने राम्रो व्यवहारमा विश्वास गर्ने सिद्धान्त नै मानवतावाद हो । यसको दृष्टिमा संसारभरिका मानिस समान छन् । तिनमा कुनै किसिमको असमानता वा भेदभाव स्वीकार्य हुँदैन । हत्या, हिंसा, अशान्ति, कोलाहललाई मानवतावादले स्वीकार गर्दैन । विकृति विसङ्गतिका विरुद्धमा जसरी जयपृथ्वीबहादुर सिंह खडा हुनुभएको थियो । त्यसैगरी मानवतावाद पनि त्यसको विरुद्धमा खडा हुन्छ । त्यस किसिमको सही संस्कारको विकास गर्नुपर्छ । जयपृथ्वीबहादुर सिंहले गरेको वकालत पनि यही हो । उहाँका चिन्तन तत्कालीन नेपालको परिवेशभन्दा धेरै अगाडि थिए । त्यसैले हामी उहाँलाई युग पुरुष वा युग नायकका रुपमा चिन्छौँ ।”

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भन्नुभयो– “जयपृथ्वीबहादुर सिंह बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । सडक, पुल, अस्पताल, विद्यालय, भूमि सुधार आदि क्षेत्रमा उहाँको योगदान स्मरणीय छ । राजा भएको व्यक्तिले राजकाज छाडेर सन् १९१६ मा भारतको देहरादून र बेङ्लोरमा बसाइ सरेर आठ वर्षमा मानवतावादसम्बन्धी तीन ओटा किताब लेख्नुभयो । यस्ता व्यक्तित्व उहाँबाहेक नेपालमा जन्मिन सकेका छैनन् ।” उहाँले भन्नुभयो– “नेपालको राष्ट्रिय राजनीति र सामाजिक क्षेत्रमा जयपृथ्वीबहादुर सिंहले सुधारका कार्य गर्नुभएको थियो । शिक्षामा मानव अधिकार अध्यापन गर्ने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । उहाँ शिक्षा क्षेत्रमा नेपालका पिता हुन् । नेपालमा प्रशासनिक शिक्षा अध्यापन गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्छ । राष्ट्र भाषामा शिक्षा दिने कार्यको थालनी उहाँले गर्नुभएको थियो । पुनर्जागरण सुरु गर्ने पहिलो व्यक्ति जयपृथ्वीबहादुर सिंह हुनुहुन्छ । विश्वमा जहाँ जहाँ उहाँ पुग्नुभयो त्यहाँ मानवतावादको प्रचार गर्नुभयो । उहाँको सिद्धान्तमा सारा विश्व हिँड्नुपर्छ । मानवतावाद नेपालबाट उत्पन्न भएको सिद्धान्त हो । मानवतावादका सुरुवातकर्ता जयपृथ्वीबहादुर सिंह नै हो । त्यो समग्र नेपालीका लागि गर्वको कुरा हो । समाज र परिवारभित्र एकता भए शान्ति आउँछ । शान्तिले मानवतावाद जन्माउँछ । जयपृथ्वीबहादुर सिंहले त्यो बेला यसको सुरुवात गर्नुभयो । त्यो बेलाको कल्पना गरौँ न । अब जयपृथ्वीबहादुर सिंह बझाङको मात्र होइन विश्वका साढे सात अर्ब बासिन्दाका सम्पत्ति हुनुहुन्छ । विश्वले उहाँको सिद्धान्त अनुकरण गर्नुपर्छ ।”

सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति प्रा.डा. अमरराज जोशीले प्रथम विश्वयुद्ध ताका युद्धले विथोलिएको संसारलाई मानवीय दुःखबाट मुक्ति पाउने अन्तिम उपाय के छ भन्ने बृहत् विचार दिने व्यक्तित्व मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह भएको बताउनुभयो । उहाँले भन्नुभयो– “प्रथम विश्वयुद्धको दृश्यले उहाँलाई छोयो । त्यो बिथोलिएको दृश्य हेरिसकेपछि उहाँले विचारको मन्थन गर्नुभयो । बेङ्लोरमा बसेर कृतिको सिर्जना गर्नुभयो– मानवतावाद । मानव दुःखको अन्त्यको उपाय के छ ? भन्दा उहाँले आत्मशुद्धीकरण भन्नुभयो । मानिसका चाहना र असन्तुष्टिको दौड पूरा नै मानिसलाई दुःखित् बनाउने आधार हो । त्यो तत्वको विनास गरेपछिमात्र मानवीय दुःखको अन्त्य हुन्छ र मानिसले मानिसलाई प्रेम गर्ने प्रवृत्तिको सिर्जना आत्मशुद्धीकरणबाट मात्र हुन्छ भन्ने महत्वपूर्ण विचार उहाँको थियो । मानिसले मानिसलाई प्रेम गर्ने प्रवृत्तिलाई उहाँले मानवतावादको नाम दिनुभयो । उहाँले मानव अधिकारको एजेन्डाभन्दा दार्शनिक र राजनीतिक विचार दिनुभयो । त्यो विचारको व्याख्या र मनन् गर्नु आजको आवश्यकता हो ।”

नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभाग प्रमुख प्राध्यापक दिनेशराज पन्तले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै भन्नुभयो– “जयपृथ्वीबहादुर सिंह श्री ३ महाराज चन्द्रशमशेरका ज्वाइँ हुनुहुन्थ्यो । चन्द्रशमशेर कस्ता शासक थिए भन्ने कुरा सबैलाई थाहा छ । जयपृथ्वीबहादुर सिंह बझाङका राजा धेरैलाई थाहा छ । धेरै कमलाई थाहा भएको कुरा उहाँ श्री ३ जङ्गबहादुरकी छोरीका छोरा हुनुहुन्थ्यो । उहाँकी आमाको नाम रुद्रकुमारी हो । १९३४ सालमा उहाँ जन्मिनुभयो र १९९७ सालमा उहाँको देहावसान भयो ।” उहाँले मानवतावादी दर्शनमा ससुरासँग उहाँको कुरा नमिलेको उल्लेख गर्दै जयपृथ्वीबहादुर सिंह बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो– “जयपृथ्वीबहादुर गोरखापत्रसँग पनि जोडिनुभएको थियो । नेपालमा शिशु कक्षादेखि पाठ्यपुस्तक प्रकाशन गर्न प्रोत्साहन दिने कुरामा पनि उहाँको योगदान छ । नक्सालमा होस् वा बझाङको चैनपुरमा होस् पाठशाला खोलेर प्रोत्साहन दिने काममा पनि उहाँको योगदान छ । उहाँले मानवतावादी दर्शनको प्रचार गर्नुभयो । विश्वमा मानवतावाद फैलाउने मानवतावादी दार्शनिक जयपृथ्वीबहादुर सिंह साँच्चिकै पूजनीय हुनुहुन्छ ।”

मानवतावाद र जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंहले नेपाल प्रज्ञा–प्रतिष्ठानले सिफारिस नगरेको भए जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्न सम्भव थिएन भन्दै प्रज्ञा–प्रतिष्ठानप्रति आभार प्रकट गर्नुभएको थियो । उहाँले जयपृथ्वीबहादुर सिंहको विशिष्ट योगदानलाई बल्ल राष्ट्रले कदर गरेको बताउनुभयो ।

कार्यक्रममा प्रेमबहादुर धामीले ‘जयपृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक गोष्ठी–पत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठी–पत्र प्रस्तुत गर्दै उहाँले जयपृथ्वीबहादुर सिंहका सिद्धान्त बौद्ध धर्मसँग मिल्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “मानिसमा शुद्धीकरण हुनु भनेको मानवतावादको पथमा हिँड्नु नै हो । मानवतावाद त्यो सिद्धान्त हो जसले मानिस पशुभन्दा फरक छ र यसलाई धर्मका रुपमा पालना गर्नुहुँदैन तर मानिसको कर्तव्यका रुपमा अनिवार्य रुपमा पालना गर्नुपर्छ भनिएको छ । अरु मानवप्रति गर्ने व्यवहार कर्तव्य हो । करुणादायी हुने । विनम्र हुने । एउटा मानवले अर्काे मानवलाई गर्ने व्यवहार कर्तव्य हो भनेर परिभाषित गरिएको छ । मानवतावादलाई प्राचीन दर्शनका रुपमा लिने गरिन्छ । मानवतावादीले आफूलाई धर्मवादी ठान्दैनन् । मानवको उन्नतिका लागि काम गर्नुपर्छ भन्ने कुरा भन्छन् । यो ल्याटिन भाषाको ह्युम्यानिटसबाट आएको हो । यसलाई सिसेरो भन्ने विद्वानले पहिलोपटक प्रयोगमा ल्याएका थिए । राष्ट्रसङ्घको असफलताका कारण दोस्रो विश्वयुद्ध भयो भन्ने गरिन्छ । जयपृथ्वीबहादुर सिंहले मानवतावादी दर्शनको प्रचार विश्वमा गर्नुभयो जसका कारण संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो ।”

कार्यक्रममा धामीको गोष्ठी–पत्रमाथि प्रा.डा.राजाराम सुवेदी, नन्दु उप्रेती, उत्तम निरौला, शिव अधिकारी, डा.गोविन्दशरण उपाध्याय, ललितबहादुर सिंह र पञ्च सत्य सनातनले जिज्ञासा तथा पूरक विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।