भक्तपुर, भदौ ६ / कवि तथा गायक राजेशमान के.सी. ले लेख्नु भएका विभिन्न विधाका चार वटा कृतिहरू एक विशेष समारोहका बीच सार्वजनिक गरियो ।
समारोहका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा. जगत्प्रसाद उपाध्यायले विमोचन गर्नु भएको कृतिहरूमा “दृष्टिकोण” नामक लेख–निबन्ध सङ्ग्रह, “उत्प्रेरणा” नामक विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय वैज्ञानिक व्यक्तित्वहरूको जीवनी र योगदान सम्बन्धी लेख–रचनाहरूको सङ्ग्रह एवं “सृष्टि” र “जिन्दगीको यात्रा” नामक दुईवटा कविता सङ्ग्रह रहेका छन् ।
विमोचनपछि आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै प्रमुख अतिथि डा. उपाध्यायले कृतिकार राजेशमान केसीले लेख्नु भएका कृतिहरू अत्यन्त जीवनोपयोगी एवं समय सान्दर्भिक रहेको र त्यसमा पनि उहाँ गद्य लेखनतर्फ बढी सफल देखिनु भएको हुँदा यसैअनुरुप आफ्नो लेखन कार्यलाई निरन्तरता दिन उपयुक्त हुने सुझाव दिनु भयो ।
त्यसैगरी कवि केसीकी सुपुत्री एवं ब्लाइण्ड रक्स संस्थाकी संस्थापक अध्यक्ष सृष्टि केसीले बुबाले यसरी साहित्यिक क्षेत्रमा लागेर पुस्तकहरू प्रकाशन गर्दा आफूलाई निकै गर्वको महसुस हुने गरेको र यसबाट आफूलाई पनि आफ्नो क्षेत्रमा अझ सक्रिय भएर लाग्ने प्रेरणा मिलेको धारणा व्यक्त गर्नु भयो ।
कृतिकार राजेशमान केसीले आफूले साहित्य सिर्जना मार्फत् समाजको सकारात्मक रुपान्तरणमा योगदान पु्र्याउने उद्देश्यले पुस्तकहरू लेखेको र आफ्नो सेवा निवृत्त जीवन यस्तै सृजनशील कार्यमा व्यतीत गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा कवि तथा गायक के.सी.ले आफ्नै स्वर, संगीत र शब्दमा एउटा उत्प्रेरणामूलक गीत पनि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार शेखर ढुङ्गेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने समालोचक युवराज मैनाली एवं गीतकार सुवासचन्द्र ढुङ्गेलले विमोचित कृतिहरूमाथि आ–आफ्नो समीक्षात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार विनोद नेपाल, विनयध्वज थापा, विद्या घिमिरे, त्रिविक्रम पाण्डे, लाल बहादुर भुजेल, बसन्त मुनकर्मी लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सिर्जना अभियान समाजद्वारा भक्तपुरको सृजनानगरस्थित मोडर्न कलेजमा आयोजित उक्त कार्यक्रमको सभापतित्व साहित्यकार एवं प्राज्ञ ध्रुव मधिकर्मीले गर्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।