काठमाडौँ / विगत लामो समयदेखि साहित्य साधना र सञ्चार कर्ममा समर्पित स्रष्टा डा. नवराज लम्साल ‘साहित्यवार्ता : स्रष्टा र सिर्जना’को छैटौँ शृङ्खलामा आउनुहुने भएको छ । आगामी शनिबार हुने उक्त शृङ्खलाको प्रत्यक्ष प्रसारणमा डा. लम्सालसँग साहित्यिक एवं विविधि अनुभूतिमूलक कुराकानी हुनेछ ।
साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत हरेक शनिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदै आएको सो कार्यक्रमको छैटौँ शृङ्खलामा कवि, गीतकार तथा सञ्चारकर्मी डा. लम्साललाई आमन्त्रित गरिएको हो ।
डा. लम्सालको पछिल्लो कृति ‘अग्नि’ महाकाव्य बहुप्रतिष्ठित मदन पुरस्कार २०७८ को उत्कृष्ट ८ को सूचीमा पर्न सफल भएको छ । त्यसैगरी नेपाली साहित्यको अर्को प्रतिष्ठित पुरस्कार पद्मश्री पुरस्कारका लागि २०७८ कै उत्कृष्ट ५ को सूचीमा समेत सो महाकाव्य परेको छ ।
धादिङको ज्यामरुङमा जन्मिनुभएका कवि डा.लम्सालका हालसम्म तीनवटा महाकाव्य, तीनवटा नै कवितासङ्ग्रह र दुईवटा गीतसङ्ग्रह गरी ८ कृति प्रकाशित छन् । त्यसमा एउटा बाल-गीतसङ्ग्रह समेत रहेको छ ।
त्यसैगरी उहाँका ३ सयभन्दा धेरै गीतहरू विभिन्न गायक-गायिकाको आवाजमा रेकर्ड भएर बजारमा आइसकेका छन् । कुनै समय बिबिसी नेपाली सेवाको कला संवाददाताको रुपमा रहेर ८ वर्ष काम गर्नुभएका डा. लम्साल विगत करिब तीन दशकदेखि रेडियो नेपालमा सेवारत हुनुहुन्छ ।
हाल उहाँ रेडियो नेपालको कार्यक्रम महाशाखा प्रमुख हुनुहुन्छ ।
लामो समयदेखि काठमाडौँमा रहेर साहित्य लेखनसँगै सञ्चार क्षेत्रमा सक्रिय डा. लम्सालले दर्जनौँ पुरस्कार/सम्मान प्राप्त गर्नुभएको छ ।
यिनै लोकप्रिय कवि, गीतकार तथा सञ्चारकर्मी डा. लम्सालसँगको साहित्यवार्तामा मदन पुरस्कार र पद्मश्री पुरस्कारको सेरोफेरोमा रहेर, उहाँको साहित्य लेखन यात्रा, सञ्चारकर्म, विशेष अनुभूतिसहित नेपाली साहित्यका विविध पाटोमा केन्द्रित रहेर कुराकानी गरिने कार्यक्रम संयोजक तथा कवि/चित्रकार जीवित खड्का मगरले बताउनुभयो ।
साहित्यपोस्टका युएई संयोजकसमेत रहनु भएका कवि डिजी शर्माले युएईबाट उक्त कार्यक्रम सञ्चालन गर्नुहुनेछ । कार्यक्रम एक घण्टाको हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।