काठमाडौं / लघुकथा समाज नेपालले १४औँ लघुकथा दिवस विशेष रूपमा मनाएको छ । समाजले प्रत्येक वर्ष भदौ ५ गतेलाई लघुकथा दिवसका रूपमा मनाउँदै आएको छ ।
आइतबार सर्वनाम नाट्यघरमा आयोजित कार्यक्रममा समाजले प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान — २०७९’ पाँच दशकअघि नै लघुकथाका क्षेत्रमा कलम चलाउनु भएकी कथाकार अनिता तुलाधरलाई प्रदान गरियो । उहाँको लघुकथा कृति पनि प्रकाशित छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अनिता तुलाधरलाई सम्मान पत्र प्रदान गर्नुभयो । उक्त सम्मानका साथ नगद राशि २१ हजार रुपैयाँ पनि प्रदान गरियो ।
नेपालका पहिलो लघुकथाकार पूर्णप्रसाद ब्राह्मणका नाममा ओम श्रेष्ठद्वारा स्थापित सो सम्मान २०७८ सालमा लघुकथा मञ्चन गर्दै लघुकथाको उन्नयनमा योगदान दिएबापत सर्वनामलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा नगेन्द्रराज शर्माले समाजले उचित पात्रलाई सम्मानित गरेकोमा खुशी लागेको बताउनुभयो ।
उक्त अवसरमा समाजका सल्लाहकारहरू अशेष मल्ल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, सम्मानित स्रष्टा अनिता तुलाधर, ममता मृदुल र तुलसीहरि कोइरालाले मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको दोस्रो चरणमा अनिता तुलाधरद्वारा लिखित तीन लघुकथाहरूलाई ‘मेटिएको सिन्दुर’, ‘चुहिएको तरङ’ र ‘मृत्युको संगीत’ सर्वनामका रंगकर्मीहरूद्वारा मञ्चन गरिएको थियो ।
तीन लघुकथाको नाट्य रूपान्तरण तथा निर्देशन राज शाहले गर्नु भएको थियो ।
पुरस्कृत अनिता तुलाधरले आफ्नो पचास वर्षदेखिको लेखन कार्यलाई मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरेकोमा समाजलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “मेरो लघुकथा २०२४ सालमा प्रकाशित भए पनि लघुतम कथा बाल्गी पत्रिकामा २०२७ सालमा प्रकाशित भएका हुन् । २०३४ सालमा लघुतम कथाहरूको सङ्ग्रह ठूलो प्रकाशित भएको हो ।”
पहिलो लघुकथा ‘झिल्का’ २००७ साल भदौ ५ गते प्रकाशन गरेर पूर्णप्रसाद ब्राह्मणले सुरु गरेको लघुकथा इतिहासको स्मरणमा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र पूर्णप्रसाद ब्राह्मणका परिवारले सो पुरस्कार स्थापना गरेको समाजका सचिव तुलसीहरि कोइरालाले बताउनुभयो । लघुकथा समाजले प्रदान गर्ने पाँच पुरस्कारमध्ये सबैभन्दा ठूलो राशिको सो पुरस्कार यसपटक तुलाधरलाई प्रदान गरिएको हो । योसहित समाजका धनमान लघुकथा पुरस्कार, धनमान कथा पुरस्कार, बाटुली–खिलध्वज लघुकथा पुरस्कार, सावित्री–केशर कथा पुरस्कार रहेका छन् ।
यसैगरी सो कार्यक्रममा हेमलता उप्रेतीको ‘एउटा प्रश्न’ लघुकथा सङ्ग्रह पनि विमोचन गरिएको थियो । लघुकथा समाज प्रदेश १ की अध्यक्ष ममता मृदुलले सो सङ्ग्रहको सम्पादन गर्नुभएको हो ।
कार्यक्रममा मृदुलले हेमलताको सिर्जनात्मक प्रतिभाबारे चर्चा गर्नुभएको थियो । हेमलताले तयार पारेका कथाहरू उहाँकै ल्यापटपबाट लिएर कतिपय अधुरा लघुकथाहरूलाई आफैँले पूर्णता दिएको पनि उहाँले बताउनुभयो । सम्पादनको क्रममा हेमलताका श्रीमान् राजेन्द्र कुँवरले धेरै नै सहयोग गरेकोमा धन्यवादसमेत प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो पितृसत्तात्मक परिवेशमा श्रीमतीको मृत्युपछि पनि यसरी उनको कीर्ति राख्न कृतिको प्रकाशन गर्नु निकै गौरवपूर्ण कुरा हो ।”
कार्यक्रममा वरिष्ठ साहित्यकारहरू अशेष मल्ल, मन्दिरा मधुश्री, राधा चालिसे, हरि अधिकारी लगायत थुप्रै साहित्यअनुरागीहरूको उपस्थिति थियो ।
समाजका प्रदेश समितिहरूले यही भदौ ११ गतेसम्म प्रदेशका राजधानीहरूमा विभिन्न कार्यक्रम गर्दै मनाउने पनि सो अवसरमा जनाइएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।