वि.सं. २००८ सालमा स्थापित नेपालकै पुरानो लेखकहरूको संघ नेपाली लेखक सङ्घले नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक विज्ञप्ति जारी गरेको छ ।

सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा गिरिको असामयिक निधनले सङ्घलाई मर्माहत बनाएको भन्दै उहाँ नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं समाजवादी चिन्तकका साथै विराट विद्वान् व्यक्तित्वका रूपमा सुपरिचित हुनुहुन्छ भनिएको छ ।

नेता गिरिको बेजोड वाक् कला र सिद्धहस्त लेखनीबाट नेपाली समाज निकै लाभान्वित भएको भन्दै उहाँको निधनले नेपाली बौद्धिक जगतलाई अपूरणीय क्षति पुर्याएको जारी विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न विषयको विशद ज्ञान, प्रखर विचार, तर्कशील दृष्टिकोण तथा न्यायका पक्षमा लिएका अडान एवं आदर्श र निष्ठावान् जीवनका कारण गिरि नेपाली जनमानसमा अमर भइसक्नु भएको बताउँदै यस दुखद् खडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

‘दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।